विमल किशोर श्रीवास्तव

अमानुषिकता, भ्रष्टाचार र अराजकता
मौलाएको यो देशमा,
कहाँबाट परिचालन गरुँ म
शासन-विधि र परोपकारिताको अस्मिता !

बेफिक्री सीमा अतिक्रमण र राजनीतिक कलहले
ग्रसित यो राष्ट्रमा,
कहाँबाट प्रतिरक्षित गरुँ म
राष्ट्र र राष्ट्रियताको अस्मिता !

अवैध खनिज उत्खनन, घुसपैठ र शिकार
अभ्यासरत यो राज्यमा,
कहाँबाट संरक्षण गरुँ म
दिव्य हिमाल र पहाडको अस्मिता !

शिक्षाको व्यापारीकरण, युवा बेरोजगारी र विदेश पलायनले
आश्रय पाएको यो देशमा,
कहाँबाट सम्हालुँ म
अद्वितीय कला र कौशलको अस्मिता !

आतङ्ककारी, बलात्कारी र क्रुरता
फस्टाएको यो मुलुकमा,
कहाँबाट सञ्चित गरुँ म
नारी, चेली र बालबालिकाको अस्मिता !

विराटनगर