राता बाकसहरूको मेला लाएर
प्रत्येक दिन गौचरणको धावनमार्ग चिच्याउँछ
धमिलो बाग्मतीसँगै बगेका
कैयन सपनाहरूको चित्तकारसँग झुलिबस्छ
मेरो कान्तिपुरी नगरी

छातीमाथि एउटा हरियो किताब
नौ जवान तस्बिर
दुई औंलाको ल्याप्चे बोकेर
लाम्बद्ध घाट कुरेर बसेको छ एउटा जवानी
तमाम वैशाखीहरूको शिरान हालेर

सिउँदोमा दागबत्तीको ध्वाँसो लेपेर
चिताको खरानीसँग बिलायो सिन्दुर
कलिला भविष्यहरू सडकमा छोडेर
पखालेर जिन्दगीको रङ
अस्तायो घाम

किताबको झोला छोडेर
स्कुलका भित्ताहरूमा, शहरका दिवालहरूमा
विश्वविद्यालयका पर्खालहरूमा
लेख्दै थियो
हिजो लेख्दै थियो
बुर्जुवा शिक्षा विरुद्धको नोट
टाँस्दै थियो
देश बदल्ने नाराहरू
बुझाउँदै थियो समृद्धि फल्ने मन्त्र

खाँदाखाँदै गाँस छोडेर हिँडेको रात
टाउकोमा मृत्यु बाँधेर
कलिला काँधमा भिरेथ्यो बन्दुक
देखेर परिवर्तन उठाएर मुड्की
खाएथ्यो कसम

हठात…
अयोग्यताको फुली बकस पाएपछि
जिजीविषाको त्यान्द्रो पक्डेर
तर्न खोज्दै थियो जिन्दगीको भवसागर
अभावको आँधिबेरीसँग गर्दै थियो महायुद्ध
कलकारखानाहरूको, उद्योगहरूको
अस्थिपन्जरसँग तर्सिएर
हालेर पसिनाको टेन्डर
बालुवामा उमार्दै थियो रहर
पिउँदै थियो महासागरको नुनिलो पानी
नशामा कर्णालीहरू छल्काएर

के सोच्दै होलान्
यो ब्रह्मनालको चिताबाट
उसका यी आँखाहरूले
त्यही आकाशलाई नियालेर
सपना बुन्दै हिँडेको त्यो बाटो
देख्दैथियो फेरि नौलो सपना
“चालीस कटेसी” रमाउने
रातो बाकसमा अन्मिनु भन्दा
ठिक
अघिल्लो रात ।

 

इटहरी , सुनसरी