दुई अक्षरको यो शब्दमा सारा संसार अडिएको छ
तिमीले पाउने इज्जत पनि यसमै जुटेको छ
आज पैसा हुँदा, धन नै सबथोक होइनझैं लाग्ला तिम्लाई
जब गोजी रित्तो हुनेछ, पैसाको मूल्य थाहा हुनेछ

भातृत्व छैन अनि मातृत्व छैन
तिमी असल हुँदाहुँदै पनि तिम्रो सही व्यक्तित्व छैन
तीतो लाग्न सक्छ तर सत्य यही नै हो
धन छैन त कुनै पनि मानिसको अस्तित्व छैन

बिरामी आमालाई औषधि किन्न पैसा नपुगेर खोज्दै हिँडेको हिजोझैं लाग्छ
काँप्छ मुटु किनकि उपचार खर्च नपाएर छिमेकी बितेको हिजोझैं लाग्छ
अब धनभन्दा मन ठूलो भन्दै मेरो सामु नआउनू, बिन्ती
आज धनकै कारणले छोडेर गएकी तिम्ले
मृत्युसम्म सँगै हुन पाऊँ भनेको हिजोझैं लाग्छ

बा त्यो किन्दिनु न भन्दा पैसा नभएर मैले मेरो बाउलाई लज्जित भएको देखेको छु
जरूरत पुर्याउन नसक्दा परिवारको आमालाई कुनामा रोएको देखेको छु
अझै धनभन्दा मन ठूलो भन्दै मेरो सामु नआउनू, बिन्ती
मैले आफ्ना भनाउँदाहरूलाई पनि पैसाकै कारण टाढा भएको देखेको छु
अनि त्यस दिन मैले बुझेँ
कैले उचाई कैले निचाई कहिले हराउँछ त कहिले जिताउँछ
पुस्तकले त्यति सिकाउँदैन जति खाली खल्तीले सिकाउँछ

मुखमा रामराम बगलीमा छुरा गर्ने आफन्तका चालहरूको
पैसामा अडिएको मायाजाल, खालहरूको
म आउँछु, फर्केर आउँछु अनि उत्तर पनि दिन्छु…
‘के गर्छ र यस्ले?’ भनी ममाथि उठेका सवालहरूको ।