तिमी सपनामा देखेको मृत्युसँग
डराएर भक्कानिदै रुन्छौ सानु
हेर त म विपनामै मर्दै ब्युँतिदै छु
म कोसँग कहाँ गएर रोऊँ ?

सानो छँदा भन्नुहुन्थ्यो नि
सपनामा मरेको देखे आयु बढ्छ
म त विपनामै पल पल मरिसकेँ
अब मेरो के बढ्छ होला आमा?

फूल चुँड्दा, कागती निचोर्दा रुने म
आज मै चुँडिएकी छु, निचोरिएकी छु
मेरो दु:खमा संयोगले प्रकृति र पीडाले आमा
रोएको हेर्ने हिम्मत कहाँबाट ल्याऊँ मैले?

अब सपनाको शहरबाट बैकुण्ठको यात्रामा
कफनको सारीमा सजिएर, माटोको सिन्दुर पैरँदै
बुकी फूलको माला र रुद्राक्षको नौगेडी लगाउँदै
मृत्युको डोलीबाट मौनताको अलबिदा भन्न सकूँ !

लमही, दाङ