यौटा बूढो धयेँराको वनको बीचमा रुख
हरियाली छ चौतर्फी त्यही धोत्रे कुरूप छ ।

सयौं वर्ष भयो भन्छन् कुहिँदै छ जताततै
दाँत झरेसरी थोते छैन सुन्दरता कतै ।

लुटेर वनको शोभा बस्छ उही गजक्क भै
ससाना बिरुवामाथि हैकम त्यो जमाउँदै ।

पोथ्राको गति क्यै छैन उसैको सेपमा परी
सानातिना बुटालाई सधैंको साउने झरी !

न त छन् हरिया पात न बस्छे कोइली त्यहाँ
बस्छ ठाडो भई एक्लै साथी कोही नभै जहाँ ।

हुँदैन वनको शोभा नभए हरियोपन
मिल्दैनन् सुखका झिल्का नभए हँसिलो मन ।

न हुन्छ दाउरो राम्रो न घाँसपात नै हुने
ढुसी पलाउने चीसो धूवाँ फुसफुसाउने ।

न त शीतलता मिल्छ न त छेक्छ हुरी कतै
न त अक्सिजनै मिल्छ न त मिल्छ सुवास नै ।

न त दलिन त्यो बन्छ न त बन्छ भ-याङ नै
न त फलेक त्यो बन्छ न त बन्छ दराज नै ।

धोत्रिएको धयेँरामा विषालु जीव बस्दछन्
सर्प, करेत, बिच्छीले बेलाबखत डस्दछन् ।

खतरा नजिकै बस्दा ढलेर थिच्न सक्दछ
वरिपरि टुसाएका बिरुवा मिच्न सक्दछ ।

छैनन् हाँगाबिँगा राम्रा न त बस्छन् त्यहाँ चरा
मिल्काऔं अब खोल्सामा उक्काई यसका जरा ।

हालः पोखरा– १७, कास्की