
जननीकै दशधारा नचिन्नेहरूले
राष्ट्रहितमा वकालत गरेको देख्दा
जननी, सहोदर, स्वभार्या र सन्ततिका विरुद्धमा
सर्वदा तल्लीन खरिजुकाहरू नै
समग्र समाज र देशहितबारे बनावटी वकालत गरेको देख्दा
अलि पर कतै एकान्त कुनाबाट
कोल्टे परेर नेपालमाताले
एउटा आँखा मात्र झिम्क्याएर
गिज्याए जस्तो लाग्छ।
छि:!छि: !!छि:!!!
लाजपचेका घिनलाग्दा जुकाहरू !
तिमीहरूले आफैलाई जानाजानी
हामीलाई झुक्याएर
हाम्रै सामु आफ्नो कपोकल्पित नैतिक परिचय दिँदा
`म आफैँ जीवित छु कि सपना हो ?´ भनी आफ्नै छाला चिमोट्न मन लाग्छ
कम्तीमा यी दुष्टका समकालमा नजन्मिएको भए त ?
यो व्यङ्ग्य दृष्याङ्क देख्नै पर्दैनथ्यो भनी
कहिलेकाहीँ त-
प्रकृति र जननीलाई गाली गर्न मन लाग्छ
जननी, सहोदर, भार्या र सन्तति नचिन्ने म्लेच्छ्हरूका आदर्शका भाषणरूपी दन्त्यकथा सुन्दा
समाज र देशको अभिनेयात्मक चिन्तनको बल्छी दर्शाई
नाटकीय अभिनय गरेको देख्दा-
सपनामै छु या बिपना ?
आफ्नै कानको छाला पो मुसार्न पुग्छु
अनि थाहा पाउँछु – म त होशमै रहेछु; अनि विपनामै छु
तर दृष्य मात्र सपना रहेछ
आफैँलाई थुम्थुम्याउँछु र भन्छु -“चुप लाग् गधा!´´
यो कालमा जन्मिनु त “केवल तेरो गल्ती थियो´´ भन्छु
र अन्त्यमा आफैँलाई धिक्कार्छु
सरस्वती संस्कृत क्याम्पस, मणिग्राम, रुपन्देही



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

