धरा धरा चिरेर यो फुटेर मूल जाग्दछ
मनुष्य शक्ति भक्तिमा जुटेर अस्त्र भाग्दछ
सियो बनेर हेर्दछन् लुछाचुँडी जताततै
छ मोल तोल न्यायको अप्राप्य अस्मिता कतै ।

लुकीछिपी बसेर पो जुका बनेर निल्दछन्
धरी सुमित्र रूपमा लुतो बनेर चिल्दछन्
हरेक पाइला दबे दबाउने उचो पुगे
बगाउने गले झरे पिरोलिएर गुम्सिए ।

थिचेर राष्ट्र ढल्कियो उदाङ्गियो धरापमा
भुजा र पाउ छिन्दछन् धरा परेर चापमा
विभेदका जरा गडे उखेल्नु खै कसो गरी
खिया पुगे जरा जरा निकास खोज्नु के भरी ।

छ अन्धकार सृष्टि यो जलेर भष्म छन् जहाँ
लुटेर अस्मिता सबै सखाप जिन्दगी यहाँ
सुधीर धीर मित्रता सदैव छन् बनावटी
भुवा बनी उडी उडी विशाक्त छर्दछन् बुटी ।

मगाइए सजाइए धुजा धुजा परी गए
मिली उठे, भुके, जुधे लुछाचुडी पछारिए
कहाँ सकूँ म न्यायको प्रवेशद्वार खोलन
छ काल जाल तन्त्रको छ व्यर्थ सत्य बोलन ।

हटेर हुन्न कष्टमा डटेर लाग्नुपर्दछ
सहेर हुन्न त्रासदी लडेर फाल्नुपर्दछ
निदाउँदै सकिन्न है सदैव उठ्नुपर्दछ
प्रभातका मुना मुना प्रकाश छर्नुपर्दछ ।