अन्दाजी ९०० किमि लम्बाइ र २०० किमि चौडाइ भएको
सन्सारकै अग्लो उचाई र गहिराई युक्त
शान्त बुद्ध, जनक र भृकुटी जन्माउने
हरिया पोषिला फाँटहरू
नागबेली डाँडाकाँडा र
सेता, सफा चम्किला चुचुराहरू भएको
मेरो देश हराएकाले
फेला पार्नु हुने महानुभावले
कृपा गरी फिर्ता गरिदिनु होला

आजकल खै के भएको
मेरो मधेश मेरो भएन
मेरो पहाड मेरो रहेन
हिमालको के कुरा !
मेरो काठमाडौँ मेरो भएन

आजकल साँच्चै के भएको हो ?
कोही किराँत भन्छन्
कोही मधेश त कोही नेवा !
कसैलाइ अखण्ड सुप चाहियो रे !
कोही मिथिला नभै नमान्ने रे !
तमु मगर-गण्डक नमान्ने रे !
नेपाललाई आफ्नो नठान्ने रे !

सुन्दा यस्तो लाग्छ
अब नेपाल कतै छैन
यहाँ नेपाली कोही छैन

हो !
यसैले, मेरो देश हराएकोले
फेला पार्नु हुने महानुभावले
कृपा गरी फिर्ता गरिदिनु होला
मेरो प्यारो
अखण्ड नेपाल
समुन्नत नेपाल।

काठमाडौँ