फूल फुलेको भ्रमर डुलेको
मौरी रसमा मस्त भुलेको
फुरफुर फुरफुर पुतली नाच्ने
छैन वसन्ती-बाग झुलेको

पात चिमोटी फूल निमोठी
फल्ने फुल्ने बिरुवा मारी
पारिजातको पोथ्रो फाली
गाँजा धतुरो सिउँडी सारी

बास्ना खोसी रस सब सोसी
आफ्नै घरमा आगो झोसी
फूलकै शत्रु बन्दछ माली
काँडा रोप्दछ फूल उखाली

बिरुवाघर नै मास्छ उराली
पुष्पवाटिका बन्दछ खाली
मुखको राम्रो मनको जाली
गर्छ बगैँचाको रखवाली

फूल चोर नै वरपर राखी
बेइमानको भेला डाकी
बोट मञ्जरी चुँड्ने लाक्षी
बन्छ बिरालो दुधको साक्षी

मर्माहत भो मौरी सारा
भयाक्रान्त भो भमरा बिचरा
आतङ्कित भै पुतली प्यारी
काँडाबीचमा बस्छे क्यारी

फूल नफुल्दा फूलकै दोष
माटो पानी मलकै दोष
पात जराको अझ झन् दोष
भन्दै हामी पोख्छौँ रोष

अज्ञानी झैँ बन्छौँ हामी
अन्धाले झैँ हात्ती छामी
वरपर बस्दै पिट्छौँ ताली
भन्छौँ आहा ! राम्रो माली ।

[छन्द: पादाकुलक]