आज हामी एउटा ऐतिहासिक जिम्मेवारी पूरा गरौँ
थोरै पुण्य कमाऔं
देशलाई फेरि एउटा गुण लगाऔं
आउनुहोस्
ज्ञात आज्ञात शहीदहरूको सम्झनामा हामी पनि
एक मिनेट मौनधारण गरौँ

बडो सजिलो छ मौनधारण गर्न
टाउको अलिकति निहुर्याउनुहोस्
आँखा चिम्म गर्नुहोस्
भावविह्वल बन्नुहोस्
र “सुरु” भनेपछि मनमनै
बैंकबाट लिएको लोनको
ब्याज हिसाब गर्नुहोस्
वा, गाउँमा जोइपोइको झगडाको निसाफ गर्नुहोस्
कि विपक्षीलाई गर्ने गर्ने गालीको सूची बनाउनुहोस्
कि ठेका टेन्डरमा
च्यानल र प्यानलको लाइन मिलाउनुहोस्
कार्यक्रमको अतिथि हुनुहुन्छ भने
अन्तिममा दिने मायाको चिनो कल्पना गर्नुहोस्
खादा र माला लाएकै हुन्छ
कसले थाहा पाउँछ र !

मनमनै प्रियतमाका गाला सम्झनुहोस्
र करिब करिब पैंतीस सेकेन्डमा एक मिनेट बिताउनुहोस्

ए ए… एउटा कुरा त झन्डै छुटेछ
तपाईंले अहिले स्मरण गर्ने शहीदलाई
तपाईं आफैँले ढालेको हुन सक्छ
निमोठेर गर्धन जंगलमा कतै फालेको हुनसक्छ
वा, बसभित्र पेट्रोल छर्केर जिउँदै डढाएको हुन सक्छ
कि बन्चराले घुँडा फुकालेर
बलि चढाएको हुन सक्छ
त्यसो रहेछ भने – सुन्दर क्षण हुनेछ

तपाईंलाई त्यसको अनुहार सम्झन सजिलो हुनेछ
सम्झनुस्, मजाले त्यसको अनुहार सम्झनुहोस्
तर आँखा नसम्झनुहोस्
त्यसले अझै सपना देखिरहेको हुन सक्छ
त्यसको सपनाको चाङमाथि
तपाईं उभिरहेको हुन सक्छ
त्यसैले त्यसको अनुहार मात्र सम्झनुहोस्
तर मुख नसम्झिनुहोस्
त्यसले तपाईंको परिचय बोलिदिन सक्छ
रहस्यको पर्दा खोलिदिन सक्छ
त्यसकारण त्यसको अनुहार मात्र सम्झनु होस्
तर कान नसम्झिनुहोस्
त्यसले तपाईंले एकान्तमा गरेको कानेखुसी सुनेको हुनसक्छ
तसर्थ मात्र त्यसको अनुहार मात्र सम्झनुहोस्
तर, नाक नसम्झिनुहोस्
त्यसले टाढैबाट तपाईंको दुर्गन्ध पाएको हुनसक्छ

कसै गरे पनि शहीदको स्मृतिमा
मौनधारण गर्दा
शहीदको मुहार सम्झिन सक्नु भएन भने
एउटा विकल्प
तपाईंका लागि खुला छ
अब कसलाई शहीद बनाउने
त्यसको निधो गर्नुहोस्
र त्यसैको अनुहार सम्झिनुहोस्
र विगत मात्र होइन
आगतका शहीदका स्मृतिमा समेत
मौनधारण गर्नुहोस्
एउटा ऐतिहासिक जिम्मेवारी पूरा गर्नुहोस्
पुन: पुण्य कमाउनुहोस्
देशलाई फेरि एउटा गुण लगाउनुहोस्
करिब पच्चीस सेकेन्डमा एक मिनेट बिताउनुहोस्
आउनुहोस्
ज्ञात आज्ञात सहिदको सम्झनामा मौनधारण गर्नुहोस् ।

 

झापा