यद्यपि मैले
एउटा आरोहीले झैँ
पाइला टेकेर
तिम्रो चुचुरो चढ्न सकिनँ
र पनि नजिकबाट आँखा जुधाएर
नजरमा चढाएर
पठाएँ मेरो मन-मुटु
तिम्रो शिखरसम्म
अञ्जुलीभरिको कञ्चन हिउँ
कोसेली माग्न
र पोतेर आफूलाई
भित्र / बाहिर
तिमीजस्तै सफा उज्यालो चम्काउन

म लोभिएँ, साह्रै लोभिएँ
जतिपल्ट तिमीलाई नियालेँ
रत्तिभर कतै दाग नबोकी
फैलिएको सेतो साम्राज्य
जो उभिरहेको छ
स्निग्ध, शान्त र शीतल
घामको पहिलो स्पर्शमा
लजाउँदै
रातो खुलिरहेको
सुनौलो मुस्काइरहेको
तिम्रो मदहोस दृश्य
हजारबार क्लिक गरिरहन्छ मेरो आँखा

स्वर्गीय दृश्यपानको
यो अविरल सुखानुभूतिमा
म तिमीलाई पढ्दैछु
र यति बुझ्ने कोसिस गर्दैछु
तिमी जस्तै
सेतो सफा खुल्न
सबैको नजरमा अग्लो उभिन
आखिर चिसिनु पर्ने रहेछ
सबै विकारहरू जम्ने गरी
सेलाउनु पर्ने पो रहेछ ।

बनेपा -७