म चक्षुअंशुविहीन प्रजा
अंशु वर्माको प्रासाद परिसरमा याचना गर्दै
धरहराको दैलोमा भैलो खेल्दै
जीर्ण गोठ धुरी झैं जिङरिङ्ग उभिदै
उपेक्षित हातहरू ठिङरिङ्ग पर्सादै
भाविको तीक्ष्ण उष्ण सन्त्रास खापिरहेछु
नर भेलमा माइकको बल्छी थापिरहेछु
करुणाहीन अतिवृष्टिले सुर्काएको
ठिङ्ग टापुजस्तो
दिशाविहीन उद्भवले हुर्काएको
झ्याङ्ग विपिन जस्तो
चौतर्फी पानी, ह्वेल र माछाहरू छन्
तर, सङ्गी कोही नभएजस्तो
तिम्रा नजर र दृष्टिबाट सधैं सधैं बेखबर
म तिनै अंशु वर्माको प्रजा बोल्दै छु
हे अंशु वर्मा !
तिमीले नयन अंशुमा अंकुश सजाएका छौ
मेरा, लोचन ज्योति र सुकुमार मुटुलाई
मुडो र काठमा झैं बर्मा चलाएका छौ
तिमी वक्षस्थलमा राष्ट्रिय विभूतिको तक्मा टाँसेर
गद्दीमा आसन ग्रहण गरिरहेछौ
म माथस्थलमा छालाको टोपी खाँदेर
रद्दीमा भाषण ग्रहण गरिहेछु
हे अंशु वर्मा !
तिम्रो प्रवचनसँग रुमल्लिँदै
क्लेशको सुसेली खेल्दै, ठिङ्गुरा झेल्दै
अनि मनको आँखा एकातर्फ सन्काउँदै भन्न मन लाग्छ
वास्तवमा संसार र मानवता नदेख्ने तिमी हौ
तिमी ‘उज्यालो उजाड्ने’ अंशु वर्मा हौ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।