तीर्थराज भट्ट

अपि-सैपालको शीतलता,
झिल्मिला र घोडाघोडीको रङ,
सेतीकिनारका मनोरम फाँट, इत्यादि
रामबहादुर दाइ,
यी सबै कुरासँग तिम्रो के साइनो हगी ?

अपिकै आँगनमा भए पनि तिम्रो झुपडी
झिलमिलाकै पानीले मेटाए पनि तिर्खा
सेतीका फाँटहरुमै खियाए पनि दश नङ्ग्रा
यिनले शायदै ठाने होलान् तिमीलाई आफ्नो !

विश्राम नै पो कहिले पायौ र-
जिन्दगीलाई चोया चोयामा बुन्दा,
सपनाहरुलाई आरनमा धार लाउँदा,
दमाहा बजाउँदा मालिकको छोराको जन्तीमा ?

तिम्रा फेरिएका भूमिकाहरुले पनि
फेर्न सकेनन् तिम्रो मयलचाटो र कछाड !!

अचेल,
तिम्रो नाममा युद्ध लडेको कमरेड
दरबारको छतमा कबाबको स्वाद लिँदै
दशैं मनाइरहेछ !

कहिल्यै हटेन त्यो विवशताको नाम्लो
कपाल झरिसक्दा पनि तिम्रो शिरबाट
कहिल्यै उज्यालिन पाएन विशु र गौरा पर्वहरुमा
खप्तडका पाटनहरु जस्तो तिम्रो निधारले ।

तिमी बोकिरह्यौ जीर्ण खल्तीमा बडो जतनले
मतदाता परिचय पत्र
नागरिकता प्रमाणपत्र ।
त्यो झुपडी र आँगनको लालपुर्जा त
मिल्नै सकेन, र पनि
चुनावहरुमा आफ्नो काँचुली फेरिरहने
नैपालका ठालु र गवाँजका मुखियाहरुले
गरिरहे लिलामी तिम्रा अभिमत र श्रमको
गरिरहे अस्वीकार तिम्रा नागरिक हकहरु ।

मैले पत्तै पाइनँ,
काली र सेतीमा अविरल उर्लिरहने
तिम्रा आँखाबाट बगेका आँशु रहेछन् !

मैले बल्ल बुझ्दैछु,
मेरै गाउँ छेउको जोगिनी छहराले अविराम सुसाइरहने
तिम्रै पीडाको गीत पो रहेछ !