सिस्नुपानी नेपाल, हेटौँडाले हालै आफ्नो स्थापना दिवसको अवसर पारेर हास्य व्यंग्य कविता प्रतियोगिता आयोजन गरेको थियो । सो प्रतियोगितामा सान्त्वना स्थान प्राप्त कविताः

 

जाँडरक्सी महोत्सव

डिल्लीप्रसाद मूलतिहुन

अनिवार्य गरौँ हामी लगानी अब जाँडमा
नत्र यो देशनै हाम्रो जान के बेर भाँडमा
समृद्धि जाँडरक्सीले मात्र देखिन्छ सम्भव
त्यसैले नगरी हुन्न जाँडरक्सी महोत्सव ।१।

विनाजाँड हिजोआज हुन्छन् अशुद्ध पण्डित
खान्न जाँड भने हुन्न कोही सन्तुष्ट त्योसित
सुरुवाल भिजाएर खोज्नुपर्छ खुसी अब
त्यसैले नगरी हुन्न जाँडरक्सी महोत्सव ।२।

गाडी चालकले खोजे नपिएर चलाउन
कार्वाही नगरी हुन्न अटेरी तहलाउन
जहाँ यात्री त्यहाँ रक्सी नारा बन्नु पर्‍यो अब
त्यसैले नगरी हुन्न जाँडरक्सी महोत्सव ।३।

पर्यटकहरूलाई भट्टीमा बास चाहियो
चाहिँदैन अरूखाना रक्सी र तास चाहियो
शिसीका साथमा मिस्सी आवश्यक भयोअब
त्यसैले नगरी हुन्न जाँडरक्सी महोत्सव ।४।

अङ्ग्रेजी गतिलो बोल्दै एक्लै छम्छम नाच्नुछ
पुगेर घरमा आफ्नी पत्नीको ढाड भाँच्नुछ
जाँडरक्सी विना हुन्छ यस्ता कुरा असम्भव
त्यसैले नगरी हुन्न जाँडरक्सी महोत्सव ।५।

भुस्याहाले निदाएको बेलामा जल ख्वाउँछ
जाँडको स्वादमा अर्को नयाँ स्वाद चखाउँछ
त्योबेला जत्तिकै प्यारो गल्ली बन्नु पर्‍यो अब
त्यसैले नगरी हुन्न जाँडरक्सी महोत्सव ।६ ।

राष्ट्रको ढुकुटीबाट सुकुटी किन्न थाल्नुछ
जाँड शिक्षा सिकाएर जाँड विज्ञ निकाल्नुछ
भोजभतेरमा रक्सी अनिवार्य भयो अब
त्यसैले नगरी हुन्न जाँडरक्सी महोत्सव ।७।

मोलुङ-५ ओखलढुङ्गा
हालः चागुनारायण न पा -३ भक्तपुर

 

बाँदर

छन्द: अनुष्टुप्

कालोपाटी समाएर गर्छ सिद्धान्तका कुरा
खाडी लाग छिटो भन्दै उचाल्दो छ सबै भुरा ।
चिथोर्छ सपना जम्मै मान्छे भैदिन्छ काँतर
रेमिटेन्स थुपारेर राज गर्दछ बाँदर ।।१।।

हान्छ झापड सोझामा महङ्गीले सताँउछ
गर्छ भेला कयौं चेला आफ्नै अस्तित्व गाँउछ ।
आफ्नो काम कहाँ गर्थे पाल्छन् नोकरचाकर
मेरो संसार हो भन्दै राजगर्दछ बाँदर ।।२।।

मुकुण्डो भिर्छ जोगीको दुवै हात फिजाँउछ
विदेशी दक्षिणा माग्दै मुन्टो आफ्नो झुकाउँछ ।
स्वाभिमान लतारेर आगो झोस्छ स्वयं घर
सपनाको कुवा खन्दै राज गर्दछ बाँदर ।।३।।

गर्छ भेला सयौँ सेना एक्लो ऊ बन्छ नायक
रामको भक्त हूँ भन्दै चोर्छ जे हुन्छ पायक।
यही बाँदरले गर्दा भताभुङ्ग भयो घर
आफै मन्त्री सिपाही भै राज गर्द छ बाँदर।।४।।

खैरे लङ्गुरको नीति आँखा चिम्लेर पास भो
अर्कैले सुन्दरी लग्दा ढेडुको उठिबास भो ।
यस्तो बाँदरको होला ओखती खै कता तिर
नेता झै सानले आज राज गर्द छ बाँदर ।।५।।

प्रभास घिमिरे
हेटौंडा उ.म.न.पा १७, मकवानपुर

फलानो

भङ्ज्याहा, रिसाहा र छुद्र बोली भएको छ
लोभि, कुटिल, अल्छी र खोक्रो छ
फलानो खत्तम छ
महिलाहरू प्रति उसका बिचारहरू घटिया छन्
र्‍याल चुहाउँछन्
स्वार्थले भरिपूर्ण छ व्यवहार
दुनिया भरिका मान्छेको कुरा काट्दै
निंदा गर्दै हिँड्छ
सबैले आफ्नो
मात्र आफ्नो
नितान्त आफ्नो
प्रशंसामा शब्दहरू खर्चिउन् भन्छ
आफन्तहरूलाई अपराधी बताउँछ
दुश्मनका हरेक कुरामा डाह गर्छ, मुर्मुरिन्छ
आस्थिक छुईन भन्छ र भगवानहरूलाई सराप्छ
साँझ-साँझ भट्टी छिरेर, आफ्नो मालिकको खैरो खन्छ
जागीर छोड्ने धम्की दिन्छ
आफुलाई सर्वश्रेष्ठ श्रमिक प्रमाणित गर्न तम्सिन्छ
फलानो फटाहा छ
धुर्त छ, नाटक गर्न माहिर छ
दाह्रा किटेर, बजाउँछ अरूका उपलब्धिमा ताली
फिस्स हाँस्छ नक्कली हाँसो
अपशब्दको शब्दकोश सायद उसैले लेखेको होला
आशे छ, सबैसंग केहि न केहि आश गर्छ
बाआमालाई राक्षस जस्तो व्यवहार देखाउँछ
श्रीमतीसंग पनि खुशी छैन
साथीहरूलाई आपतमा साथ दिँदैन, उल्टै आरोप लगाउँछ
अवसरवादी, घमण्डी र स्वार्थीको
छुटेकी प्रेमीकाहरूलाई चरित्रहिन भन्दै हिँड्छ
अरूले बोलेका हरेक कुरा
झुटा हुन्, निरअर्थक हुन् सोच्छ
विभेद गर्दिन भन्छ, विभेदकारी
सत्ता लडाउछु भन्छ, मौखिक क्रान्तिकारी
मासुभात डकारेर, साग र सिस्नुका आदर्श छाट्छ
पैसाका लागी मरिहत्ते गर्छ, स्विकार्दैन
आध्यात्मिक विचारहरू पोख्छ तर मनमा शान्ति छैन
जिवनको सुन्दरता देखाउँछ, आत्महत्या बारे सोच्छ
सर्वज्ञानी हुँ, ईमानदार हुँ, देशप्रेमी हुँ, असल छोरा/लोग्ने हुँ
प्रकृतीप्रेमी हुँ, मिहिनेती हुँ…. आदी… आदी भन्ला
तर
त्यसको ठिक उल्टो सोच्नुहोस्
कुनै/केहि कुरासंग खुशी छैन उ
सन्तोष छैन उसलाई
फलानो घटिया छ
म फलानो हुँ
तपाई फलानो हो ।

सुरज पराजुली
इनरुवा, सुनसरी

 

नेताज्यूलाई स्वागत छ

आउनुहोस् नेताज्यू, हाम्रो गाउँमा स्वागत छ
खै कुन चुनाव जितेर जानु भाथ्यो
जनताको मन जितेर जानु भाथ्यो
आफ्नो कार्यकर्ता पोसेर जानु भाथ्यो
गरेका वाचा घोकेर जानु भाथ्यो
समस्याको पोको बोकेर जानु भाथ्यो
त्यो चुनाव जितेर यो चुनाव ढुकेर आउनु भा छ
आउनुहोस् नेताज्यू, हाम्रो गाउँमा स्वागत छ

खुसी छौँ नेताज्यू, हर क्षेत्रमा तपाईंले नै जित्नु भो
चुनाव जित्नु भो, विकास नगर्ने बाजी जित्नु भो
बलात्कारीको मन जित्नु भो, नखुलेको कालो धन जित्नु भो
भ्रष्ट प्रतियोगिता जित्नु भो, भाउ बढाउने कसरत पनि जित्नु भो
सुनको लुकीछिपी जित्नु भो, युवतीको मोल जित्नु भो
करोडौँको कमिसन जित्नु भो, लाज पचाउने स्वभाव जित्नु भो
यस्ता महान् खेलाडी हाम्रै ठाउँमा आउनु भा छ
आउनुहोस् नेताज्यू, हाम्रो गाउँमा स्वागत छ

तपाईं नहुँदा कसैको गाँस बासै रोकिएको छ
साइँलीको भट्टीमा भोटे ताल्चा ठोकिएको छ
गाउँका खुसी कुखुराले तपाईंलाई नै पर्खिएका छन्
चुनावतिर खाएको मुख अझै रसाउँदै छन्
तपाईंको पछि लागेका खुट्टाहरू अझै झमझमाउँदै छन्
तपाईंको तमासा हेरेर छिमेकी बेस्मारी रमाउँदै छन्
धन्न नेता परमेश्वर घुमीफिरी हाम्रै ठाउँमा आउनु भा छ
आउनुहोस् नेताज्यू, हाम्रो गाउँमा स्वागत छ

गाउँ ख्याउटे भो, तपाईं दह्रै मोटाउनु भएछ
गाउँ गरिब भो, तपाईं धनी हुनु भएछ
तपाईंलाई सबैले चिन्छन्, गाउँलाई कसैले चिन्दैनन्
गाउँमा विकास भएन, तपाईंको राम्रै विकास भएछ
गाउँको मुहार फेरिएन, तपाईंको कल्कलाउँदो भएछ
चुनावी घोषणा हामीले बिर्सेनौँ, तपाईंले बिर्सनु भएछ
आफन्त मात्र सम्झनु भयो, हामीलाई सम्झनु भएन
आज त्यही अनुहार लिएर हाम्रा ठाउँमा आउनु भा छ
आउनुहोस् नेताज्यू, हाम्रो गाउँमा स्वागत छ

जनतालाई सास्ती दिनु भो, आफूले मस्ती लिनु भो
भ्रष्टाचारको खोल ओढी महँगीको उपहार दिनु भो
पेट्रोलियम पदार्थ लाउने हैन, सु्ङ्दै हिँड्ने पार्नु भो
जनताले नचाहेको कुरामा हात धोर लाग्नु भो
आफ्नै स्वार्थ पूरा गर्न रातभर जाग्नु भो
हाम्रो दुःख देख्न नसक्ने आदरणीय नेताज्यू
त्यही दुःख हेर्न करोडौँको भ्यु टावर बनार आउनु भा छ
आउनुहोस् नेताज्यू, हाम्रो गाउँमा स्वागत छ

तपाईंले बनाको भ्यु टावर चढेर केके देख्नु भो नेताज्यू
दुई छाक टार्न धौधौ पर्ने गरिबीको पीडा देख्नु भो
महँगीले आकाश छोएको रमाइलो दृश्य देख्नु भो
युवा विदेशिन विमानस्थलमा लागेको लामो लाइन देख्नु भो
बेरोजगारीको ताँती देख्नु भो, नेपाल आमाको आँशु देख्नु भो
नागरिकका झुपडीहरूलाई मतपेटीका देख्नु भो
यति राम्रो संसार देखेर मुस्कुराउँदै आउनु भा छ
आउनुहोस् नेताज्यू, हाम्रो गाउँमा स्वागत छ ।

कमल घिमिरे

हामी

शार्दूलविक्रीडित

हामी ठुस्स गनाउँछौ किन भने पालेर बस्छौँ तुस
हाम्रो पेट फुल्यो नि बेलुनजसै खाएर टन्नै घुस
छोड्छौँ फुस्स कहाँ चुहिन्छ कसरी पाइन्न पत्तो पनि
हाम्रै काण्डहरू बजारभरिमा बिक्छन् अहो फन्फनी

हामीबाट लुटेर आज उसले थप्दैछ आफ्नो तला
हेर्छौँ ट्वाल्ल परेर ट्वाँट मनुवा लुट्नेहरूको कला
हामीले पनि कुम्भकर्ण गुरुको पायौँ ठुलै आशिष
डुब्दा देश सुतीरह्यौँ बहरझैँ फ्वाँ फ्वाँ गरी मानिस

गाला,हात,शरीर चाउरिसक्यो हेर्ने उज्यालो लुक्यो
मात्रै भोगविलासले तर यहाँ कर्तव्य हाम्रो चुक्यो
लुट्दैछन् जसले गएर उसकै गर्छौँ प्रशंसा ठुलो
बल्दैनन् तर भ्रष्टका चरणमा ज्यू ज्यू नगर्दा चुलो

पढ्ने वा नव कार्यको समयमा म्यासेज कुर्दै बस्यौँ
प्रेमीको उपहार किन्दिन पर्यो लाखौँ गुमायौँ फस्यौँ
पर्छन् जो मनुवा विचार नगरी यो प्रेमको जालमा
जाकिन्छन् मदिरा पिई विरहमा बेकामको तालमा

गर्छन् भाषण चोकमा खुब बसी,कुत्ताहरूले पनि
टेक्छन् गोबर मार्गमा नि महँगा,जुत्ताहरूले पनि
छाती भित्र गढेर गुम्सिरहने, के दम्भ पाल्छौ भन
थाहै हुन्न कहाँ पुगेर कसरी ढल्नेछ यो जीवन

संयोग बस्याल
कास्की, पोखरा