नारी तिम्रा अवयव सबै मोहनी रूप कस्तो
धर्ती सारा जगभरी कतै हुन्न लौ मोल सस्तो
ब्रह्मा आफैँ थकित नभमा गाउँदा गीत तिम्रो
मान्छे आफैँ चकित जगमा पाउँदा प्रीत तिम्रो ।।
हिँड्दा खुट्टा छमछम गरी नर्तकी चाल आहा !
गाला चिल्ला छलछल गरी केसको छाल आहा !
लाली चढ्दा अधरभरि नै लोभिने बन्छ मौरी
नारी प्यारी मदकल सुरा सर्वदा रम्य गौरी ।।
मान्छे कस्ती चमचम गरी चम्किने दिव्य आभा
मान्छे हौ या गगनचर हौ मस्तले खान कावा
तिम्रो लज्जा पनि बनिदिने सार सौन्दर्य चाला
खोली दिन्छ पुरुष नरको बन्द धीरत्व ताला ।।
नारी तिम्रो तनमन सबै शुद्धताको निवास
फक्री चट्ट लहलह बनी फैलिदिन्छ्यौ सुवास
आमा बन्छ्यौ सुललित तिमी छर्न न्यानो पियार
रम्छन् बच्चा दूधरस लिई बाल क्रीडा विहार ।।
गर्मी बढ्दा हिमसरि भई शीत ठण्डी हिमाल
जाडो लागी लुगलुग बने अग्नि ज्वाला कमाल
सारा राम्रा चिजबिज सबै आरसी मान्छु तिम्रा
होलान् केही अवगुण कतै शील नै छान्छु तिम्रा ।।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

