सडकका लामबद्ध घरहरूबाट अछट्ट
एक्लै एउटा ठूलो बंगला उभिएको छ
घरअगाडि पार्क गरिएका गाडीहरू
अनि ढोकैअगाडि यत्रतत्र
फुकालिएका जुत्ता र चप्पलले
घरभित्रको व्यस्ततालाई बताइरहेका छन्
भित्र,
खानाका परिकारहरू
कागजको प्लेटमा पस्किन
व्यस्त मानिसहरूको भीड छ
खानासँगै ठूला ठूला गफ
पस्किरहेका छन्:
कसको कमाई कति ?
कसको गाडी कुन ब्रान्डको ?
कसको व्यापार के ?
भेला भएका मानिसका रवाफिला
गफ सुन्दा लाग्छ
त्यहाँ कुनै ठूला व्यापारीहरूको जमघट छ
त्यहाँ सब थोक छ:
बडा घरको फराकिलो गराजमा
पार्क गरिएका मर्सिडिज र
लेक्सस ब्रान्डका गाडीहरू
विचित्रका चित्रहरू अङ्कित
घरका कलात्मक ढोकाहरू
बहुमूल्य सामानहरूले सजिसजाउ
घरका कोठाहरू भव्यता र सम्पन्नताको
प्रमाण प्रदर्शन गरिरहेका छन्
कोठाहरूको भित्ताभरि फैलिएका
ठूला र फराकिला कलर टेलिभिजनहरू
कयौं दिनदेखि दर्शक पर्खिरहेका छन्
लाग्छ त्यो घरमा के छैन र !
सब थोक छ
केवल एउटा कुरा छैन
त्यो हो – खुशी
आज खुशीले त्यही घरमा देह त्याग गरेको
दश दिन भएको छ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।