हिजो बितेको समयको के कुरा गरूँ
राजनीतिको दलदलले देशको मुहार पोतिएको थियो
आजको पनि आशा मरिसक्यो
सदन र सत्ता अपराधीको चङ्गुलमा फसिसक्यो।
नयाँ अनुहार उदाएका छन्
मधुर किरण छरिएको छ
देशको चिन्ता छैन, हुन्न कतै
नागरिकमा निराशा भरिएको छ
लन्ठुहरू प्रलोभनमा लठ्ठ परी
बैठक र सभा गर्छन्
सोझो मान्छे सिधा बढ्न नसक्ने भएको छ
गाँस र कपासमा अल्झेकोलाई प्रलोभनको बिज अड्केको छ
देख्नेहरू बोल्दैनन्, बेल्नेहरू देख्दैनन्
मजाक यो भएको छ
सिरानीमा हिमालय राखी
देशको पसिना अन्तै बहेको छ
शिक्षालय राजनीतिको चङ्गुलमा डुब्दा खेरी
चट्टानमा हिरा खोज्ने जनशक्ति गुम्यो
गगनमाथि कुशासनको पराकाष्ठा
रोग, भोक, सन्तापले शिखरको टुप्पो चुम्यो
लौन कोही आऊ यहाँ
सम्पूर्ण रोगहरूको अचुक वाँण लिई
बैगुनी आत्माहरू भरी
गुणको मन्त्र जप्न पर्ने अवसर दिई
पाठ्यपुस्तकमा देशप्रेम बोलोस्
औषधिमा लेखिएको मात्रा मिलोस्
सदनमा देशको दिल बोलोस्
पास भएको बिलले खिल खोलोस्
र म बुझाउॅला मेरी अनपढ आमालाई
कि,
आमा, यो देश बन्छ
तिमीजस्तै पवित्र
पहिलेको बागमतीजस्तै
अब पढे लेखेकाले फोहोर गर्ने छैनन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।