केही सपना केही रहर बोकेर
घर छोडेर सहर
पसेको मान्छे हुँ म

मैले बिर्सनु हुन्न
बाले बगाएका पसिनाका धारा
मैले बिर्सनु हुन्न
आमाको मायाको अभिभारा

सन्तानले दुई अक्षर
चिनून भनी बाले हड्डी घोटेका हुन्
मैले बिर्सनु हुन्न
बाका हत्केलामा उठेका ठेला
मैले बिर्सनु हुन्न
आमाको त्यो फाटेको चोली
मैले बिर्सनु हुन्न, म कमजोर हुँदा
छिमेकीले लाएको बोली

मलाई सम्झना छ
समयमै रिन नतिर्दा साहुले थर्काएको
मलाई थाहा छ
मलाई पढ्न भनि बाले रिन काढेर
पैसा पठाएको

यो सहरमा मेरो भाँडाको
एककोठे संसार छ
त्यही संसारमा म मेरो सपनाहरूलाई
मलजल गरिरहेछु
कहिले साकार हुन्छन् यी सपना
आफ्नै मनसँग छलफल गरिरहेछु

उमेर हो अलि अलि रहर
पलाएर आउँछ
तर मनलाई बाँधेर
सपनालाई सम्झिबस्छु
भिडमा पनि एक्लै हुन्छु
म आफ्नै मनको सुन्छु

मन भन्छ-
तँ गुँड छोडेर
उडेको बचेरा होस्
तैँले आफ्नै पखेटाले उड्न
सिकेर फर्किनु पर्छ

बालाई चिन्ता छ-
छोरो बिग्रेला भन्ने
आमालाई चिन्ता छ
भोकै बसिदेला भन्ने

म हारेको छैन
सङ्घर्ष गरिरहेछु
अधुरा सपनालाई पुरा गर्न
म लडिरहेछु चुनौतीहरूसँग
बाआमाको आशा पुरा गर्न
सके जितेर फर्किन्छु
नजिते सिकेर फर्किन्छु
म केही गरेरै फर्किन्छु
म केही भएरै फर्किन्छु
म मेरो गाउँ अनि
बाआमाको काखमा
म एउटा नाम बोकेर फर्किन्छु ।