एउटा पहाड
एउटा मैदान
माथि गरेको लामो तपस्याको आभा
आज बुढो भएछ
आइते कामी सानै थियो
खरीको बोट रोप्दा
उसको आवास पहाडको टुप्पोमा
एक्लो थियो न कुनै बस्ती
न कुनै बजार
मानौँ आवाज नजिकैको खोल्सा खोलेसीमा
एउटा पानीको मूल थियो
खरीको बोट लगायो
पानी हाल्यो, हुर्कायो
बढायो र एउटा पहाडमा आउने मान्छेका लागि
बस्ने निदाउने एउटा यात्रीका लागि चौतारी भयो
आइते विदेश गयो
आइते सदियौँपछि आयो
आइते हरेक बेला हरायो
आइतै मानौँ उतै हरायो
र पहाडको आवासमा फर्कियो
आउँदा खरीको बोट बूढो भएछ
आउँदा खरीको बोट पुरानो भएछ
खरीको बोट
आज कसैको गीतको कहानी भएको छ
आज कसैको पुरानो तस्बिर भएको छ
आज कसैको प्रेमको प्रतीक र निशानी भएको छ
हो त्यो पहाडको खरीको बोट
आज एउटा चलचित्र मीठो कहानी भएको छ
एउटा खरीको बोटमा दलका नेताले कति भाषण गरे
त्यही खरीको बोटमा कतिका पार्टीले झन्डा गाडे
तर आइते कामी र खरीको बोटको इतिहास कसैले
लेखेको छैन
हो साथी, कसैले देखेको छैन
लाग्छ आइते आजभोलि त्यहीँ सुस्ताउँछ
परालको मान्द्रो ओछ्याउँछ
परालको सुस्ताउँछ
हल्का निदाउँछ
खरीको बोट उसको एक्लो सहारा भएको छ
खरीको बोट आइतेलाई
मृत्युबाट बचाउने अक्सिजन भएको छ
खरीको बोट कसैको कहानी भएको छ
कसैको जवानी भएको छ
तर खरीको बोट ठिक्क पहाड
नितान्त एक्लो उभिएको छ
नितान्त एक्लो उभिएको छ ।
पश्चिम रुकुम
चौरजहारी नपा
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।