जमिन हुनेको जग हुन्छ
खाँबा हुन्छन्, घर हुन्छ
नहुनेको के हुन्छ ?

मसिनो हुरीले सजिलै उडाउनेछ
सिमलको भुँवा जस्तो जिन्दगीको हुन्छ

पैंचो लाउन र माग्न नपाएको बास
र ओत नभएको छानोमुनि
नरोई हाँसेर जहान परिवारसँगै
एकपछि अर्को अन्त्यहीन यात्रामा
पहिरो गएको छातीले
छोराछोरीलाई आश्वासनको कुम्लो बोकाएर
ठाउँ-कुठाउँ आड खोजी हिँड्ने
रुखबाट झरेको पातजस्तो
अथवा………………………

सांसारिकताबाट विरक्त भएर
आफैंलाई बिर्सी हिँड्ने
फिरन्तेझैं जिन्दगी हुन्छ
बल्लतल्ल जोडेका बट्टा-बट्टी
थाङ्ना-थाङ्नी केही तासी र बासी इच्छाहरू
अलिकति छोडेको माया र पाएका गालीहरू
गमलाभित्रको किनेको माटो र बिरुवाहरू
के नै पो हुन्छ र नहुनेको
गार्‍हो हुँदोरहेछ उखेलिन आफूबाट

जराबाट जरा, जरा चुँडिन
बरु सजिलो हुँदोरहेछ
उखेलिन अरुबाट
मेरा गमलाका माटोबाट
ममताका आत्मीय आँशु
हृदयमा तप्किनी झरेर
निभाउन खोजिरहेछन्
आँतको आगोलाई
पाइला हराएपछि पैतालाबाट
पैताला उखेलिएपछि जमिनबाट
गमलाको माटो प्रेम गर्छ मलाई
‘म’ प्रेम गर्छु गमलाको माटोलाई

गमलाको जरा हुँदैनन्
जरा हुनेकै त रहेछ घर

माटो सुँघेर आकाश हुने ‘म’
छामेर छुन सकिन आफैंलाई
छोएर भेटिँन मैले
‘म’ र ‘मेरा’ कुनै अर्थहरू
‘म’ ठेगाना हराएको मान्छे
‘म’ मान्छेबाट फाँटमै हराएको मान्छे
‘म’ वतन नभएको मान्छे
‘म’ देशको नभएको मान्छे
निचोरेर आफू नहुनुको व्यथालाई
एक फाँक सुकाएर
आश्वासनको घाममा
जहान परिवार छोरा-छोरीलाई
हामी होइनौंको कथा नभन्दै
हामी छैनौंको – अनुभूति नगराउँदै
कहीँ पुग्छौं – को प्रेरणाले
डेरा घर किरायाको कोठा सरेको
सूचना दिइरहेछु ।

गान्तोक, सिक्किम (भारत)