नीलो छ
त्यसको समाप्ति छैन
म त्यसैको बीचमा छु
ठिङ्ग उभिन खोज्छु
टेक्ने ठाउँ छैन
त्यो शून्य निकै सुन्दर छ !

आऊ मलाई धकेल्देऊ
शून्यमा खसाइदेऊ
म खस्छु र गहिराइ नाप्छु
म खस्छु र उचाइ नाप्छु
रोमाञ्चित भएको छ मन
उपत्यकाहरू कता छन् ?
– म खोज्छु
भेटियो भने त भेटियो नै !

मुनि र माथि अलग संसार छन्
म बीचमा छु
शून्यमा छु
कहिले माथि उक्लिन्छु
कहिले तल ओर्लिन्छु
मेरा पाइलाका सिंढीहरू –
चढेर कति स्वर्ग पुगेका छन्
ओर्लेर कति नर्क पुगेका छन्
यही मेरो योग्यता हो
भव्य दृष्टिमा उचालिएका आँखाले भ्रम देख्न पनि सक्छन्
प्रेम! यसो हो भने-
मलाई माफ गर् !

डरपोक हातहरू-
खुट्टालाई रोकेर हिंड्न खोज्छन्
र त बाटोमा टेक्दैनन्
अत: मैले कतै केही भेट्दिनँ
फेरि यिनै नभेटेका कुरामा इच्छाहरू बलिया बन्दिन्छन्
अनि अनौठो लाग्छ
यही अयोग्यताले मलाई सताइरहन्छ
आकाशको ढोकामा उभिएको छु
कसैले भत्काइदिए भत्किन्थेँ
कोही होलान् र मभन्दा बलिया यो नीलो शून्यमा ?

शून्यको चट्टान
चट्टानभित्रको-
त्यो खाली शून्य
त्यो नीलो शून्य
त्यो गोप्यता
नकुँदिएको मुर्ति
त्यहाँको समय
वसन्तहरू र शरदहरू
अपरिवर्तित मौसम
यिनै हुन् मेरो मेराहरू !

खालीको सौन्दर्य अति सुन्दर हुन्छ
अत: नीलो शून्यजस्तै म खाली नै छु !