जोश बटुलेर
आवेग उठाएर
भोग गर्यौ कलादेवीलाई
अँध्यारोमा
दुब्ली पातली
स्याहार नमिलेकी
छोरी जन्मायौ
जबर्जस्ती कागजका पखेटा हालेर
पराइघर पठायौ
अहिले
जीवन धान्न पनि सकिन
तिम्रो नाम राख्न पनि सकिन
अलि समय नबित्दै
गाउँमा हल्ला चल्यो
कलादेवीकी छोरी कविताले
पछ्यौरीमा घाँटी राखेर
दलिनमा गाँठो पारिछ ।

+

कविताका
शीतझैं चम्केका
सम्भावनाका पङ्क्तिहरूमा
नछर मजाक अक्षरहरू
नथोपर हैकम रूपहरू
ऊ घर होइन
संसार रङ्ग्याउन सक्छे ।