हरिमायाको सिउँदोजस्तै
लामो र चहकिलो रातो आयु
हरिबहादुरले बाँचेको विश्वासको रङ

चौतारीमा बिसाएर खुइया काट्दै
देउराली भाकेर सङ्‌लो पानीमा
बगाएको माउर अनि
माउरसँगै बगेको
माइतीको आँगन
बालपनको इन्द्रेणी
कति गाढ़ा त्यो रङ माइतीको
सिङ्गै खोलाले पनि पखाल्न नसक्ने

बग्दै गरेको माउर र
बगाँउदै गरेको खोला
दुवै बग्दै बग्दै बग्दै बग्दै
विशाल समुद्रमा मिसिन्छन्
हरिबहादुरको आँखा

नीलो समुद्र
नीलो आकाशमुन्तिर
हरिमायाको रङ्गीन सपना समेटेर समेटेर
जीवनका सेता छालहरू पन्छाउँदै
कहिले ज्वारभाटा बनेर
त कहिले सुनामी सहेर
हरिबहादुर बाँचिरहेछ
हरिमायाको विश्वासको रङ

हरिबहादुरको छातीमा
जमेको विशाल दागले
आफ्नो हत्केला हेर्छ
हत्केलामा पनि राता-काला
फुट्‌दै गरेका र
फुट्नै लागेका ठेलाका दागहरू
भाग्यरेखा मास्तिर
फुस्रो धुलो जमेर
कालो बनेको आयुरेखाभरि
हरिमायाको सपनाको सेतो चिहान देख्छ
हरिमायाको त्यही चिहानमा
रातो गुलाफ लिई
हरिबहादुर बाँचिहेछ
हरिमायाको विश्वासको रङ ।

सूनपा २, इलाम