ठान्छौ होला तिमी
आफूलाई सर्वेसर्वा र महान्
भो म मान्दिन तिम्रो अस्तित्व
यहाँ मभन्दा ओवश्वी र प्रतापवान् कोही छैन

मेरो आँखामा कुनै रोग लागेको छैन
छैनन् नयनहरू भ्रममा मेरा
किनकि,
मैले देखेका हरेक कुराहरू सत्य हुन्छन्
मैले गरेका हरेक कामहरू शाश्वत हुन्छन्

अहिलेसम्म मेरो उचाइ भेटाउने मान्छे नै भेटेको छैन
र देखेको छैन
मेरो अस्तित्व हाराहारीको कोही पनि
तिमी ठान्दै हौला
यो संसार मैले नै धानेको छु
मैले गर्दा नै हावा बहिरहेको छ
नदी बगिरहेछ
चराहरू चिर्बिराइरहे छन्

अहँ, म पटक्कै मान्दिनँ म यो कुरा
यी तिमीले गर्दा होइन
मैले नै गर्दा भइरहेका हुन्
यदि तिमी यस्तो भ्रममा छौ भने
तिम्रो यो भ्रमलाई
मेरो म हुनुको भावले पटक्कै मान्दैन

मेरो नसामा बगेका रगतको त कुरै नगर
तिम्रा नसामा सल्बलाउने जीवन धारा
अनि
तिमीले फेर्ने हरेक सासको मूल्य नै म देख्दिनँ

हरेक भेटमा तिमीले दुई हात जोडेरै अभिवादन गर्नुपर्छ
र तिर्नुपर्छ मेरो उचाइको मूल्य
गर्नुपर्छ मेरो अहम्ताको रक्षा

आज्ञाकारी अनुचर झैँ मैले भनेको
खुरुखुरु मान्नुपर्छ तिमीले
तिमी पदको उचाइले आकाश नै किन नचुम ?
तिमीलाई पैतालाको धूलो जति पनि मान्दिनँ
तिमी आफूले आफैँलाई
आकाश चुमेको भ्रममा भ्रमित हुन्छौ भने
हुटिट्याउँले आकाश धानेको आत्मरतिमा रमाउँछौ भने
भाँच्न आतुर छु आकाश चुम्ने ओठ
भत्काउन तम्तयार छु भ्रमको आकाश

यहाँ जे गर्छु, म मात्र गर्छु
मलाई तिमी खोच्याएर हिँडेको रमाइलो लाग्छ
तिमी लडेको हेर्न मज्जा लाग्छ
मेरो मन त तिम्रो अनुहार चमक खोस्दा रमाउँछ
र हुन्छ तिम्रो अस्त्विलाई गिज्याउँदा गदगद
तिमीले नाचेको मलाई नाचजस्तो नै लाग्दैन
तिमीले गाएको मलाई गीत जस्तो पनि लाग्दैन
त्यसैले

त्यसैले
यो संसार मेरो लागि मात्र पो हो कि
या भनौँ
म मात्र पो बाँच्नुपर्ने पो हो कि ?
यस्तो लाग्छ
यही त रहेछ हामी मान्छे नामक जीवको असलियत !

हेटौँडा