आफ्नो बैँस रित्याएर
कसैको अन्त्यहीन प्रतीक्षामा बसेकी
मुटुभरि व्यथा लिएर फिका फिका हाँसेकी
मेरो गाउँ,
जो हिमाल मुस्कुराउँदा
मुस्कुराउन सक्दिनन्
पाखाभरि लालिगुँरास फुल्दा,
वसन्तको रमझममा उल्लासित हुँदिनन्
थलिएर ओछ्यान परे झैँ भएकी छन्
पीडासागरमा डुबेकी छन्
उनलाई एक्लो एक्लो महसुस हुन्छ
अनि मेरो गाउँ रुन्छ
धानका बाला बयली खेल्ने खेतमा
आज स्याल र चितुवा लुकमारी खेल्छन् रे
हिजो कति गुल्जार थियो, त्यो गाउँ
यौवनामत्त युवाहरू जुहारी खेल्दथे
आज,
वृद्धवृद्धा घर रुङ्छन, युवा परदेश
बसाइँ सर्ने ताँती लाग्छ सहरमा
जब घरहरू त्यसै छाडिएको हुन्छ
त्यही पीडामा मेरो गाउँ रुन्छ
मादलको ताल र दोहोरी गुञ्जिने गाउँ
स्वर्ग पनि फिका लाग्ने यस्तो ठाउँ
अाज मर्महात भएकी छ
सम्भार नगरिएको घरजस्तै
बिरानो बिरानो लाग्छन् पाखाहरू
जब पीडाभित्र गाउँ डुबेको हुन्छ
त्यही पीडामा मेरो गाउँ रुन्छ
कुहुकुहु गर्दै कोइली एक्लै रुँदै होलिन्
खर्कहरू गोठालाविहीन भए होलान्
हिमालको सिरेटो एक्लै चल्दै होला
गाउँको पीडा कस्ले बुझ्छ र सुन्छ
त्यसैले त भक्कानिँदै मेरो गाउँ रुन्छ ।
देवचुली १७, नवलपुर
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।