माटो, पानी र हावा
बस् यत्ति हो
मेरो जीवन कथा !

म माटो हुँ
फैलिएको छु जगतभरि
फालिएको छु आगतभरि
कोही आउँछन्
खन्छन् र खोस्रन्छन्
भेटिएको कन्दमूल बटुल्छन्
र रोप्छन्
केही थान ताजा बिउहरू
म ती बिउहरूमा
भरिदिन्छु आफ्नो प्राण
र हुर्काउँछु एउटा जीवन
फुलाउँछु आफ्नो यौवन
र फलाउँछु रङ्गीन भविष्य !

म पानी हुँ
जमेको छु पोखरीभरि
बगेको छु नदीभरि
पोखिएर तिम्रो आँखाको डिलबाट
फैलिएको छु ब्रम्हाण्डभरि
मेरो फैलावट
रोक्ने कोही छैन
मेरो तागत
छेक्ने कोही छैन
तर पनि
काकाकुल छु स्वयम्
समुद्रको छेउमा उभिएको
प्यासी मनुवा जस्तै

म हावा हुँ
भरिएको छु तिम्रो तनभरि
छरिएको छु गगनभरि
मलाई धारण गरेर
तिमी तिमी भएका छौ
र तिम्रो धर्ती
हराभरा भएको छ
के मबिना
तिम्रो अस्तित्व सम्भव छ ?

यो सारा सृष्टि
आत्मकथा हो मेरो
म भनिरहन्छु सधैं
“अहम् ब्रम्हास्मि:”
हो,
माटो, पानी र हावा
बस् यत्ति हो
मेरो जीवन कथा
अँ साँच्ची,
तिम्रो जीवन कथा ।