-मान्छे
न तिमी अज्ञात अजम्बरी छौ
न तिमी निराकार आकाशझैँ
अमर छौ
न तिमी जंगल, खोला, पहरा-छहराको
स्वामित्व बोकेको
गगन हौ
न तिमी बादल, वर्षा, मनसुन हौ
प्रत्येक साल घुमी-घुमी फर्कने
मान्छे तिमी
हरेक नयाँ दिनले
पुरानो बनाउँदै गरेको
अनिश्चित नियात्राको
बटुवा मात्रै हौ
आशाको ढाकार भरी दु:ख-पीडा, खुशी-उमंग
ढाकछोप गरी बोकी हिँड्ने
अस्थायी यात्री हौ
र पनि घमण्ड !

-मान्छे
एक दिन खुद तिमी आफ्नै हुन्नौ
तिम्रो जवानी ओइलिएर
शिशिरको हिमपादले झारेको
बुढो रुखको पातझैं खसी झर्छन्
बुढो रुखझैं नाङ्गिन्छौ
तिम्रो सुन्दता
क्यान्भासमा
सिसाकलमले कोरेको चित्रझैं
बिस्तारै-बिस्तारै फुङ्ग
उडेर जानेछ
तिमीले मेरो आफ्नै साख्खे सहगोत्री हो भन्नेहरू
तिम्रो बुढ्यौली नरुचेर
बिस्तारै टाढिन खोज्छन्
तिम्रो शरीरको मासुले त छोडेर
तिम्रो जीवन
हड्डीलाई जिम्मेवार बनाएर
बिलाउँदै जान्छ
अरुको के कुरा गर्ने ?
र पनि अझै घमण्ड !!

-मान्छे
जीवन टुङ्गो लाग्ने
तर कहिले टुङ्गिने हो भनेर थाहा नभएको मुद्दा
फैसला केवल मृत्यु हो
बक्यौतामा खटाई- खटाई
वकालत गर्ने वकिल
नचिनेको, नदेखेको र नभेटेको
भेटेपछि छुट्टिनु नमान्ने
यमलोकको यमराज हो

थाहा छ त !
आमाको न्यानो गर्भको बाटो हुँदै
दुनियाँमा पाइला टेक्दा पाउँदा
पहिलो वस्त्र थाङ्गनो र भोटोदेखि
दुनियाँबाट पाइला उठाउने बेलामा पाउने
कात्रोमा लोभ हाल्ने
गोजी, खल्ती, पकेट हुँदैन !
र पनि लोभको
त्यत्रो घमण्ड !!!

-मान्छे
तिमी केही दिनको हो
केही दिनको पाहुना मात्रै हो
पाहुनाजस्तै हो
जसरी तिम्रो घरमा आएको पाहुना
आउँछन् जान्छन्
त्यस्तै तिमी पनि जाने नै हो
जानु नै पर्छ
शाश्वत सत्यलाई छल्न सक्दैनौ
तिमीले जे-जे मेरो हो भनेर
हुङ्कार गर्दै
सानो मुटुलाई दुख्ने गरी
ड्याम-ड्याम छातिमा थप्पड बजाएर
यो मेरो हो
यो तेरो हो
हल्काराले चिठी बाँडेसरी
बाँड्दै छौ
बाँड्न हुने चिज, बाँड्न नहुने चिज
त्यो सब भ्रम हो
पर्दामा देखिने सिनेमाको
कथामा बग्ने पात्र जस्तै हो
अन्ततोगत्वामा तिमी
खाली हात हो !
एक कुइन्टल दाउरा हो
एक मुस्लो बादल छुन हिँडेको
धुँवा मात्रै हो
एक मुरी खरानी हो !
खरानी पखाल्न ल्याएको
एक गाग्री पानी हो
तिमीलाई सम्झनेहरूको
केवल याद हो
हार्दिक श्रद्धाञ्जली थाप्न
फ्रेमभित्र कैद भएको
नबोल्ने, नचल्ने, नहाँस्ने
फोटो मात्रै हो

त्यसैले भन्छु
मान्छे तिमी नगरे हुन्छ घमण्ड !

सुशील लामा
पाँचखाल, काभ्रेपलान्चोक
हाल- लिमासोल, साइप्रस