मान्छेमा यति धेरै भोक छ ताकि उसले
जल, जमिन, जङ्गल, खनिज, वनस्पति
खाँदा-खादा सिङ्गो पृथ्वी नै खान आँटिसक्यो
मान्छे यति धेरै निष्ठुरी भैसक्यो कि उसले
पृथ्वी आफ्नै लागि हो मात्रै सोच्छ
संसार आफ्नै कारणले मात्रै सुन्दर भएको भ्रम छ उसमा
उसलाई बेमतलब छ हिमाल किन आधा मात्रै मुस्कुराउँछ
नदीहरूले किन आदिम लोकगीतका भाकाहरू सुसेल्दैन
पवन किन माटोको सुगन्ध टिपेर बहँदैन
फूलहरूमा किन सौन्दर्यको रङ गाढा छैन
मान्छेलाई आफ्नो इतर कसैको परवाह छैन
पहाडले लगाएको हरियो चौबन्दी र फरिया खोइ
आकाशले ओढ्ने सप्तरङ्गी घुम्टोको चमक खोइ
पक्षीहरूको पखेटामा उत्साह खोइ
पृथ्वी, पृथ्वी जस्तो खोइ ?
आकाश किन खुनको आँशु रुन्छ
धर्तिको आक्रोश किन ज्वालामुखी बनेर बिस्फोट हुन्छ
पहिरो किन हाम्रै अनुहार लुछ्न उद्धत हुन्छ
नदीले किन बाटो बिराइरहेछ
सूर्य किन प्रचण्ड आक्रोश पोख्छ
अब गम्भीर भएर सोच्नै पर्छ मान्छेले कि
मान्छेको महत्त्वकाङ्क्षाको भोक कति खतरनाक बनिरहेछ !
मान्छेमा यति धेरै भोक छ ताकि उसले
जल, जमिन, जङ्गल, खनिज, वनस्पति
खाँदा – खाँदा सिङ्गो पृथ्वी नै खान आँटिसक्यो
मान्छेले स्वयम् मान्छेकै अस्तित्व खान आँटिसक्यो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२५ कार्तिक २०८२, मंगलवार 










