हे प्राण प्यारी, तिम्लाई छोडी जाँदैछु म टाढा,
त्यागेर सारा, धर्तीका प्यारा, पखेरा र डाँडा ।
यात्रामा लामो बीचैमा धोका दियो है नभन,
दैवको लीला, कर्मको लेखा, अधीर नबन ।। (१)

हे दैव तिमी यसोरी किन, निष्ठुरी बनेको,
यो बाटो तिम्ले टुटाइदियौ, मिलेर खनेको ।
कसरी आयु, निमोठी लियौ, यो सुन्दर फूलको,
प्रायश्चित् तिम्ले गर्नु नै पर्ला, यो तुच्छ भुलको ।। (२)

करोडौं तारा, आकाशका सारा, उज्यालो जुनैको,
को अघि जाने, को पछि जाने, फैसला उनैको ।
के लोभ गर्नु, लिएर हेर, नश्वर शरीर,
गुण्दोष हेरी फैसला गर्ने, तिनै हुन् ईश्वर ।। (३)

सौभाग्य मेरो छुट्दैछ आज, कसरी सहनु ?
दुःखको भारी तिम्लाई छोडी, कोसँग कहनु ?
सुन्दिन्छ कस्ले, मनको बह, आलापविलाप,
आउँछु छिट्टै, म तिमीसँगै, हुनेछ मिलाप ।। (४)

तिमीले प्यारी, त्यो सेतो सारी नलाउनु पटक्कै,
इन्कारै गरे, यो आत्मा मेरो, भड्किनेछ पक्कै ।
मेला र जात्रा, वन्पाखा एक्लै कसरी जाउली ?
सिन्दुर चुरा, रङ्गीन वस्त्र, कसरी लाउली ? (५)

पवित्र सेतो, लगाइ वस्त्र, वर्षदिन् रहुँला,
जे दुःख पर्ला, हृदय कठोर् बनाई सहुँला ।
खै बाबा भनी, हैरान गर्लान्, यी लालाबालाले,
अब के मैले सजिनु छ र, श्रृङ्गार मालाले ! (६)

असल मार्ग दिनु है तिम्ले, यी मेरा सन्तान
आकाशबाट स्वामीले हेर्छन्, भनेर है ठान ।
सत्मार्ग तिम्ले, अंगाल्नु हेर, समाजका अगाडी,
कुरा है काट्लान् नसुन्नु हेर, पिठ्युँका पछाडी ।। (७)

भक्कानो छुट्यो, हे स्वामी मेरो, हजुर्को कुराले,
नुनचुक लाए झैं भयो घाउमा, काटेर छुराले ।
साँचेका थियौं, ती मीठा पल, हाँसेर मनग्य,
आजिवन् मैले, बिर्सन्थें कैले, यो कस्तो दुर्भाग्य ! (८)

जाँदछु हेर अन्तिम घडी, तिमीलाई हेरेर,
अंगाली तिम्लाई रुनमन् लाग्छ, भक्कानो फोरेर ।
मायाँको चिनो, सम्झना तिम्लाई जाँदैछु छोडेर,
सँगाली राख, विनति गर्छु, दुईहात जोडेर ।। (९)

हे दैव सुन, स्वामीको मेरो, स्वर्गमा बास होस्,
भुलवस् कुनै भएमा गल्ती, त्यो सबै नाशहोस् ।
ईश्वर तिम्लाई, चाहिने किन, मानिस असल ?
वैशैमा बोट, मासेर कहाँ, लाग्दछ फसल ? (१०)

चन्द्रागिरि, काठमाडौँ