
विश्वरसिंह मेवाहाङ
दुई दशक पुरानो हो पिताजीको चस्मा
एउटा खुट्टा आधा भाँचिएको
एउटा सिसा आधा चर्किएको
लगभग
एउटा सिंगै युगको दृश्य बोकेको
आँखिझ्याल हो पिताको चस्मा
जुन समयमा
पिताजीले नांगो आँखाले दुनियाँ हेर्नु हुन्थ्यो
त्यो समयमा दुनियाँ नांगो थिएन
चरा आकाशमै उड्थ्यो
गाडी सडकमै गुड्थ्यो
नदी ओरालो नै बग्थ्यो
हिमाल उकालो नै चड्थ्यो
अर्थात
सृष्टिको नियममा कुनै गडबड थिएन
दृष्टिको नियतमा कुनै भ्रम थिएन
मान्छेहरू मान्छेकै भेषमा हुन्थे
जनवारहरू जनावरकै देशमा हुन्थे
सीमानामा अतिक्रमण थिएन
यसरी नै बित्यो पिताजीको आधा युग
र बाँकी युग बिताउनुअघि
पिताजी चस्मा किन्न बाध्य हुनु भो
जसरी
पिताजीको आँखा धुमिल हुँदै गए
दुनियाँमा देखिने दृश्य पनि असह्य हुँदै गए
मान्छेहरू नांगिन थाले
रेखाहरू बांगिन थाले
मन्दिरहरू आस्थाविहीन हुन थाले
भगवानहरू करुणाविहीन हुन थाले
संगीतहरू कर्कश सुनिन थाले
बस्त्रहरू निर्बस्त्र देखिन थाले
पिताजीले नयाँ चस्मा लगाएर
यी सारा कुदृश्य छल्ने दुष्प्रयास गर्नु भो
पिताजीको अपेक्षा विपरीत
दृश्यहरू झन् कुरुप हुँदै गए
फूलको हत्यारा माली भए
मन्दिरको भजन गाली भए
सिउँदोको रङ काली भए
अदालतको न्याय जाली भए
चस्मालाई पटक पटक पुछ्दै पिताजी
दृश्यलाई सुधारेर हेर्ने गर्नुहुन्थ्यो
चस्माले धोका दिएको भन्दै
धेरै पटक चस्मा फेर्नु भयो
पिताजीको नांगो आँखाले देखेको स्वर्ग
श्यामश्वेत तस्बिर जस्तै
झुण्डिको छ स्मृतिका धुमिल भित्तामा
अनि पिताजी आँखा पुछ्दै
स्मृतिलाई रङ्गीन बनाउने प्रयास गर्नुहुन्छ
चस्मा बदलियो आँखा बदलिएन
दृश्य बदलियो द्रष्टा बदलिएन
दृश्यको आफ्नै गति हुन्छ
दृष्टाको आफ्नो मति हुन्छ
दृश्य र द्रष्टा बीचको अन्तरद्वन्दले
धेरै चस्मा फेरिए
र यो पुँजीवादको बजारलाई
मनग्गे मलजल गर्यो ।
चिचिला -२
संखुवासभा



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३ मंसिर २०८२, बुधबार 









