छोरा !

हो त ?

धेरैले कवितामा भने भन्दैमा

म धरती नै हुँ त ?

आख्यानका ठेलीहरूमा

शब्द बगाए भन्दैमा

म सागर नै हुँ त ?

पुराणका ती स्त्रोत्रहरूमा

भाका हाले भन्दैमा

म देवी नै हुँ त ?

 

खै ? भने भनेर म

त्यस्तै बनिदिएँ कि

म बनेँ भनेर

त्यस्तो भनिदिए

तर छोरा !

मेरो आत्मालाई कुल्चिएर

शिर ठाडो पारिदिने

यो कुन ‘वाद’ हो ?

मलाई मन पदैन ।

यहाँ

अस्तित्वको पाटामा

सतीत्वको खेती गरिन्छ

अनि

मेरै जिन्दगी धितो राखेर

मलाई नै आदर्शको दास बनाइन्छ

म यो नै चाहन्न ।

 

साँच्चै बाबु !

कवितामा लेखिए झैँ

उपदेशमा भनिए झैँ

म धरती, देवी, सागर

केही होइन

न हुँ भागीरथी नै

म प्रकृति हुँ

म मानव हुँ

म पोथीप्राणी समतुल्य हुँ

म आफैँमा पूर्ण र सम्पूर्ण हुँ ।

 

छोरा !

तिमी मेरा लागि त्यो हौ

जसका लागि शब्द बनेका छैनन्

सस्ता सिर्जनामा छ्यापछ्याप्ती

भेटिँदैन त्यो महिमा

के भने

तिमीले मेरो अस्तित्व

र नारीत्वलाई फुलाएका छौ

मगमगाएका छौ

पुरै जिन्दगीलाई

बाँझीका बुलेटहरू

उतै फर्किएका छन्

अलच्छिनीका बातहरू

लर्बराएका छन्

सौतेनी साइनो

डगमगाएको छ

ममाथि उठ्ने हातहरू

फतक्क गलेका छन्

तिम्रो आगमनसँगै

मेरो जिजीविषाको

पुनरागमन भएको छ ।

 

बाबु छोरा !

माफी चाहन्छु

मेरो स्वार्थ र अभीप्साको

दासी बनेछु म

यो घाती दुनियाँमा

आउन बाध्य पारेछु

रोग, शोक र भोकको

अनि होडबाजी र क्लेशको

भागिदार पारेँछु ।

नसोधी, नबुझी मनसा

अह्राएछु

आँसु, असिना र हुरी

उपहार सम्झी

टोपी थाप्न

 

ए दुनियाँ !

मलाई झैँ मेरा सन्तानलाई

आदर्शको हतकडी लगाएर

संस्कारको कैदी नबनाए

बुझ

ए ! गोष्ठी र सेमिनारका भाषणहरू

बुझ

ए ! सुमधुर ध्वनिमा ‘आमा !’ सम्बोधन गर्दै

वाचिएका कविताहरू

तिमीहरूले मात्र कवि जन्मायौ

तिमीहरूले मात्र दार्शनिक बनायौ

सन्तानको छातीभित्र

उर्लिरहेको त्यो प्रेम चिनेनौ, चिनाएनौ

त्यसैले त म मेरै छोरालाई

बारबार सम्बोधन गर्छु

छोरा !

मभन्दा

जगत्भन्दा

प्रकृतिभन्दा

तिमी महान् छौ

महत्त्वपूर्ण छौ

तिम्रो मप्रतिको

दयालु, सुकोमल, र

स्वार्थरहित प्रेमले भरिएको छाती

हमेशा जतन गरिराख्नु

नभुल्नु त्यसलाई

जीवनपर्यन्तसम्म पनि

लालची ममताको बदला

निःस्वार्थ माया अमर राख्नु

तिम्रो मुटुमा धड्किएको मप्रतिको प्रेम ।

 

(नेपाली भाषा तथा साहित्यमा स्नातकोत्तर तहसम्मको अध्ययन गर्नुभएकी सुशीला खनाल १२ वर्षदेखि अध्यापन पेशामा संलग्न हुनुहुन्छ । कथा, गजल, पद्य कविता लेख्न रूचाउने उहाँका रचना विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । पत्रिका, बालपुस्तक तथा स्वास्थ्यसम्बन्धी पुस्तक सम्पादनमा सक्रिय उहाँ बालसाहित्यकी नवोदित सर्जक पनि हुनुहुन्छ ।)