कुन त्यस्तो धन ऐश्वर्य, कस्तो त्यो सुखसयल होला
कुन त्यस्तो खुशी जो तिमीलाई दिलाउन नसकौँला म
हीरा मोती, मणि माणिक्य, कस्तो त्यो जुहारत होला
कुन त्यस्तो प्रशाधन, जसले तिमीलाई सजाउन नसकौँला म
कुन त्यस्तो मिष्ठान्न, कस्तो त्यो खाद्य-पेय होला
कुन त्यस्तो व्यञ्जन, जो तिमीलाई खुवाउन नसकौँला म
नदी नाला, पर्वत शृङ्खला, कस्तो त्यो ताल तलैया होला
कुन त्यस्तो मनोरम स्थल जो तिमीलाई घुमाउन नसकौँला म
कुन त्यस्तो प्रतिबन्ध, कस्तो त्यो बाधा बन्देज होला
कुन त्यस्तो बन्धन, जो तिम्रा लागि तोड्न नसकौँला म
कविता, गजल, गद्य-पद्य, कस्तो त्यो काव्य कृति होला
कुन त्यस्तो प्रेम गीत जो तिम्रा लागि रच्न नसकौँला म
कुन त्यस्तो शास्त्रार्थ, कस्तो त्यो स्पर्धा होला
कुन त्यस्तो सङ्ग्राम जो तिम्रा लागि जित्न नसकौँला म
साम दाम दण्ड भेद, कुन नीति, कस्तो त्यो युक्ति होला
कुन त्यस्तो हतकन्डा जो तिम्रा लागि अपनाउन नसकौँला म
दु:ख-कष्ट, शोक-चिन्ता,भोक-प्यास र शीत-ताप
कुन त्यस्तो पीडा होला, जो तिम्रा लागि सहन नसकौँला म
प्रेमको कुन हद, साँध, कस्तो त्यो सीमा-रेखा होला
कुन त्यस्तो पराकाष्ठा, जो तिम्रा लागि पार गर्न नसकौँला म !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।