साबिर हका १९८६ मा इरानको मरमानशाहमा जन्मिए । उनी रोजगारीको खोजीमा राजधानी तेहरानमा छिरे । उनी घर बनाउने मजदुरका रूपमा काम गर्छन् ।
उनका दुई कविता संग्रह प्रकाशित छन् । इरानको श्रमिक कविता प्रतिस्पर्धामा प्रथम पुरस्कार पाइसकेका छन् तर पनि उनले मजदुरी छाडेका छैनन् ।
एउटा अन्तरवार्तामा साबिरले भनेका थिए, ‘म थाकेको छु, ज्यादै थाकेको छु । म जन्मनु पहिलेदेखि नै थाकेको छु । मेरी आमाले म गर्भै छँदा मजदुरी गर्दै पालेकी हुन् । त्यो बेलादेखि नै म मजदुर थिएँ । मेरी आमा कति थाकेकी होलिन् भन्ने म अझै महसुस गर्छु । आमाको थकान अझै मेरो शरीरमा टाँस्सिएको छ ।’
तेहरानमा उनको कुनै ठेगाना र डेरा छेन । कयौँ रात त उनी सडकमा हिँड्दाहिँड्दै बिताइदिन्छन् । स्थायी बसोबास नभएको हुनाले नै उनले एउटा उपन्यास पूरा गर्न भ्याएका छैनन् ।
उनका केही कविताहरू यहाँ अनुवाद गरी हालिएको छः
१. जामुन
तपाईंले पाकेको जामुन देख्नु भएको छ ?
यो जहाँ झर्छ, त्यहाँ
त्यसको दाग बस्छ
झर्नु जति पीडादायी केही हुन्न
मैले कयौँ मजदुरहरू
ठूला अट्टालिकाबाट झरेको देखेको छु
झरेर जामुनको कालो दाग बनेको देखेको छु
२. (ईश्वर)
(ईश्वर) पनि मजदुर नै हुन्
उनी पक्कै पनि वेल्डरहरूका पनि वेल्डर होलान्
साँझको गोधूलिमा
उनका आँखा अँगारजस्तै रातो हुँदो हो
राति उनको कमिजमा
दुलैदुलो पर्दो हो ।
३. बन्दुक
तिनले बन्दुकको आविष्कार नगरेका हुँदा हुन् त
कयौँ मानिसहरू टाढैबाट
मर्नबाट जोगिने थिए
कयौँ कुरा सजिलो हुने थियो
उनीहरूलाई मजदुरहरूको शक्ति महसुस गराउनु पनि ज्यादै सजिलो हुने थियो ।
४. मृत्युको डर
जीवनभर झूट बोल्नु गलत हो भनी
विश्वास गरिरहेँ
अरूलाई दुःख दिनु गलत हो
स्वीकारी रहेँ
थाहा छ-
मृत्यु जीवनको एउटा हिस्सा हो
र, पनि मलाई मृत्युसँग डर लाग्छ
अर्को जन्ममा पनि मजदुरै बनूँला भनेर
मर्न मलाई डर लाग्छ ।
५. जागिरको छनोट
म कुनै बैंकमा साधारण कर्मचारी बन्न सक्दिन थिएँ
खाद्य सामग्रीको सेल्समेन पनि बन्न सक्दिनँ
कुनै पार्टीको अध्यक्ष बन्न सक्दिनँ
न त ट्याक्सी चालक
प्रचारमा जुटेको मार्केटिङ गर्ने पनि बन्न सक्दिनँ
म त यति मात्र चाहन्थेँ
शहरको सबैभन्दा अग्लो ठाउँमा उभिएर
तल अटेसमटेस उभिएका अट्टालिकाबीच
त्यो स्त्रीको घर हेरूँ
जसलाई म प्रेम गर्छु
त्यसैले म अरू केही नगरी
ठूला अट्टालिका रंग्याउने मजदुर बनेँ ।
६. मेरा पिता
मैले मेरा पिताका बारेमा केही भन्ने हिम्मत जुटाएँ भने
मेरा कुरालाई विश्वास गर्नुस्
उनको जीवनले उनलाई धेरै कम आनन्द दियो
ती व्यक्ति आफ्नो परिवारका लागि समर्पित थिए
परिवारको कमी लुकाउन
उनले आफ्नो जीवन कठोर बनाए
र, अचेल म उनैका बारे कविता लेख्छु
मलाई एउटै सङ्कोच छ
उनका बारे लेखिएका कविता
उनैले पढ्न सक्दैनन् ।
७. आस्था
मेरा पिता मजदुर थिए
आस्थाले भरिपूर्ण मानिस थिए
जब उनी नमाज पढ्थे
(अल्लाह) उनका हात देखेर लज्जित हुन्थे ।
८. मृत्यु
मेरी आमाले भनिन्
मैले मृत्युलाई देखेकी छु
उसका ठूलाठूला जुँगा छन्
उसको कदकाठी यस्तो कि
ज्यादै अद्भुत !
त्यस रातदेखि यता
आमाको निर्दोषपनालाई
मैले शङ्का गर्न थालेको छु ।
९. राजनीति
ठूला ठूला परिवर्तन पनि
कति सजिलै गरिन्छन्
हातले काम चलाउने मजदुरहरूलाई पनि
सहजै राजनीतिक कार्यकर्तामा बदल्नु
कति सजिलो छ, हगि ?
क्रेनहरूले ती परिवर्तन उठाए भने
सूलीसम्म कति सजिलै पुर्याइदिन्छन् !
१०. मित्रता
म (ईश्वर)को साथी होइन
यसको एउटै मात्र कारण
त्यसको जरो ज्यादै पुरानो छः
जब छ जनाको हाम्रो परिवार
एउटा साँघुरो कोठामा बस्थ्यो
र, (ईश्वर)सँग एउटा ठूलो महल थियो
त्यहाँ ऊ एक्लै बस्थ्यो ।
११. सीमारेखा
जसरी कात्रोले लाशलाई छोप्छ
हिउँले पनि सारा चिजलाई छोप्ने गर्छ
भवनका कंकाललाई छोप्छ
रूख, चिहान सबै सबैलाई सेतो बनाइदिन्छ
र, हिउँ नै एउटा यस्तो चिज हो
जसले देशका सीमालाई पनि सेतो बनाइदिन्छ ।
१२. घर
सारा संसारका लागि म यो भन्न सक्छु
संसारका हरेक देशका लागि भन्न सक्छु
म आकाशलाई पनि भन्न सक्छु
यो ब्रह्माण्डका हरेक चिजलाई पनि भन्न सक्छु
तर तेहरानको यो झ्यालबिनाको
डेरालाई भन्न सक्दिनँ
म यसलाई घर भन्न सक्दिनँ ।
१३. सरकार
केही वर्ष भयो
प्रहरीले मलाई खोजिरहेको
मैले कसैको हत्या गरेको छैन
मैले सरकारविरूद्ध केही लेखेको पनि छैन
तिमीलाई मात्र थाहा छ, प्रियतमा
जनताका लागि कति त्रासदपूर्ण हुनेछ
सरकार यसै कारण मसँग डराउन थालोस्
कि म एउटा मजदुर हुँ
यदि म क्रान्तिकारी अथवा बागी भए
उनीहरू के गर्थे ?
र पनि त्यस केटोका लागि यो संसार
केही परिवर्तन हुँदैनथ्यो
जो स्कुलको सारा किताबको पहिलो पृष्ठमा
आफ्नो तस्बिर छापिएको देख्न चाहन्थे ।
१४. एक्लो डर
जुन बेला म मर्नेछु
मसँगै आफ्ना सारा प्रिय किताबलाई लिएर जानेछु
मैले प्रेम गरेका ति सारा मानिसहरूको तस्बिरहरूबाट
आफ्नो चिहान भर्नेछु
भविष्यका प्रति डरका लागि
मेरो नयाँ घरमा कुनै ठाउँ खाली हुने छैन
म सुतिरहनेछु
म चुरोट सल्काउने छु
म ती सारा स्त्रीहरू सम्झेर म रूनेछु
जसलाई मैले अँगालो हाल्न चाहेको थिएँ
ती सारा प्रशन्नताका बीच
एउटा डर चाहिँ रहिरहन्थ्योः
कि, एक दिन, बिहान बिहानै
कोही मेरो जिउ हल्लाउँदै मलाई जगाउला भन्लाः
ओई, उठ् ! काममा जानु छ ।
अनुवाद : अच्युत काेइराला (भारतका प्रख्यात कवि गीत चतुर्वेदीले गरेकाे हिन्दी अनुवादबाट)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।