दिनभर
घामसँग युद्ध गरेर ऊ
क्लान्त भएर सुत्छ
तर
मस्त निदाउन पाउँदैन
झसङ्ग झसङ्ग हुन्छ
ऐँठन पर्छ घरीघरी
अनि रातले डस्छ बेस्सरी !

त्यसो त उसले
आफ्नो लागि सपना देख्नुथ्यो
सन्तानको लागि सपना देख्नुथ्यो
तर
काम गर्दा गर्दै
यति व्यस्त भयो कि ऊ
सोच्न भ्याएन
सपना देख्न भ्याएन
वा
सपना देख्न पाएन
वा
देख्नै चाहेन
वा
पहिले कुनै बेला देखेका सपनाहरूको अवसान देख्दा
सपनामा कुनै सान देखेन
त्यहाँ विश्वास नै टुट्यो कि
खै कुनै
मान सम्मान देखेन !

हुन पनि
पटक पटक
ऊ भोट बन्यो
मीठो नारा पनि बन्यो
र्‍याली बन्यो
सभा सम्मेलन बन्यो
कैयौं पटक
कार्यक्रम बन्यो
योजना नि बन्यो
धेरै पटक
धेरै ठाउँमा ऊ आजको दिवस बनेर नि आयो
तर
भोलि विवश भएर गयो
देख्यो
यहाँ
सबै आयो
तर परिवर्तन आएन
सधै ऊ ऊ नै भइरहयो
कुनै उन्नयन भएन
‘गने’ भइरहयो तर गगन भएन !
हुँदै भएन !!