फोक्सो भरिने धुलो र धुवाँ पिलाएर
हरेक क्षण हरेक दिन
बाँचिरहेछ प्राचिनता .
अभाव पखाल्न आउनेहरूले
दान दिएको समयमा
आफ्नो कर्तुत छोपेर
आवरणमा पल्काउन उसले
गर्नु परेन कुनै विज्ञापन .
कतिसम्म भने –
स्वीकारेन कहिल्यै आफ्नो सन्तान उसले मलाई
ठानेन मित्रसम्म पनि .
मितेरी लाउँछ ऊ प्रदुषण बोकेर
अनि होमिदिन्छ जबरजस्ती
अभावका घुट्कीसँग .।

बालकहरूका सन्दर्भमा –
कहिल्यै सुनाएन लोरी काठमाडौँले कोक्रामा सुताएर
बोलाउन जानेन कहिल्यै बात मार्न चौतारीमा
बिसाउँ भनेन कहिल्यै पीडाका ढाकर .
गाँस भनेन कहिल्यै भारापर्मको प्रेम
बाँड भनेन कहिल्यै सहयोग र सद्भाव
लाऊ भनेन कहिल्यै सुख दुःख बाँडेर आरती
सात पुस्ता केलाएर
केलाङ नाच्दै चुई….पकन्दी लयमा
जानेन कहिल्यै सेवारो .
सट्टामा –
जिउँदा किचकन्नी र ख्याकहरूले तर्साउँदा
जोखाना हेर्ने चार गेडा अक्षता बिनै
चितामा सुत्ने बनायो आवरणको खोल ओढाउँदै
मइन्टोलको भ्रमित उज्यालो देखाएर .
सट्टामा –
एक्लै खायो प्रसाद एक्लै पूजा लाएर उसले
प्रसादका नाउँमा –
चखाएन कहिले पनि एक पित्को अपुङ्गोसम्म .
जान्यो घण्टी बजाउन हरेक प्रातः र सन्ध्यामा
नित्सेका निर्जीव देउता ब्र्यूत्याउन
बिडम्बना !
ब्यूत्याउन सकेन मानवता काठमाडौँले .।

दम र खोकीले छाती दुखेर पल्टेको बेला
दिएन पाखनबेद र बूढो ओखतीका टुक्रा .
उसकै छातीमा घस्रँदा – घस्रँदै
गानोगोला गएका दिन
पिलाएन हड्चौर र ज्वानाको झोल काठमाडौँले .
र उज्याला सपना बोकेर आउनेहरूलाई
होमिरह्यो घोक्रो अँठ्याएर
अँध्यारा विपना र चिताको वेदीमा .
मष्तकमा श्रीखण्ड घसेर
मौकामा छुरा धस्छ काठमाडौँ
अभावका घण्टीहरूले
अनाथ ब्यूझाउँन बाहेक
चिनेन ईश्वर काठमाडौँले .
सप्ताहमा डाकेर
जानेन प्रसाद बाँड्न काठमाडौँले .
आयु थपेर बाँच्नेहरूलाई
दिएन बुटी काठमाडौँले .
सट्टामा –
सजिलै मार्न सक्छ
तर
दिँदैन लास ढाक्ने कात्रो र घाट काठमाडौँले .
सुरक्षाको अनुभूतिमा –
सुरक्षित बनायो आफ्ना चोकहरू
तर जोगाउन जानेन कहिले छोरीचेलीको अस्मिता .
चन्द्रागिरि र शिवपुरीको फोक्सो चुसेर
बागमती डकार्छ ऊ
पिसाबमा विष्णुमती बगाउँदै .
जाहेर गर्छ ग्रिनसिटीको विज्ञापन
विकास, समृद्धि र भाषणका ठेलीमा
काठमाडौं मइन्टोल हो ।.

जहाँ –
नागरिकहरू लोभिएर
भकाभक मर्ने गर्छन् अनागरिक भई .
उज्यालोमा अभाव बोकेर
अन्धकारमा बाँच्ने राजधानी
आफैँमा अन्योलग्रस्त भविष्यको मन्त्र जपेर
धमिरा भइरहेछ घुसखोरी , कालो बजारी र अन्यायको .
न्यायको नाउँमा गुप्ताङ्गमा पिलो बोकेर
पठाउँछ ऊ माग्नेहरूलाई पीडा थपेर .
एक टुकी न्यायको उज्यालो
माग्न आउनेहरूलाई
बिना लाज सरम नै
सयौँ मुठी अँध्यारो थपेर
अन्याय गर्छ काठमाडौँ .
बाँच्नसम्म त –
कहीँ कतै सडक र पेटी छन्
तर मरेको दिन –
न घाट दिन्छ
न चिहान खन्ने खाल्डो नै
लाग्छ
कहिले त मर्नभन्दा बाँच्नै सजिलो हुन्छ .
बिडम्बना !
बाँच्न पनि पटक – पटक
मरेतुल्य हुनुपर्छ काठमाडौँ नगरीमा .
अँ त त्यस्तै हो
मेरा आस्थाका सङ्कल्प ढलेका दिन
अन्धकार अभावका काइमा चिप्लेर म मरेँ भने
जुठो पनि लाग्दैन काठमाडौँलाई ।.

उसकै पवित्र अङ्ग स्वयम्भुनाथ
काखमा बुद्धकै अगाडि
मान्छेहरू मारिइरहेछन् सत्यको पराकाष्ठ नाघेर .
ब्यारेकका पेटीमै बलात्कार भइरहेछन् कुमारीहरू .
एम्बुस र धरापमा पड्काइरहेछ
दूधमुखे बालकहरूलाई आमाको काखबाट खोसेर .
लुटिन्छन् विमानिस्थलबाटै
परदेशीका पसिनाका थोपाहरू .
रोजगारीमा विज्ञापनका कामुक ट्याटु खोपेर
बेरोजगार उत्पादन गर्ने भट्टीहरूमा
पुतलीझैं मरिरहेछन् शैक्षिक मृत्युहरू
मानवियता बिर्सेर पीडा र सङ्कटमा
शोकधून बजाइरहेछन् मन्दिरका पुजारी
तिनीहरूसँगै बढिरहेछन् धार्मिक मृत्युहरू .
गिदीमा घरको याद बोकेर
साहुका ब्याजको सपना देख्दै
पुतली भइरहेछन् बौद्धिक मृत्युहरू .
कस्तो पत्थरिलो हृदय छ ऊसँग
बाँच्न रहर गर्नेहरूलाई
चिता निर्माण गर्न सक्छ
तर जिउँदाहरूलाई कहिले पनि
सञ्चो बिसञ्चो सोध्दैन उसले .
नाति पुस्तालाई खाडीमा गाडेर
अलपत्र पार्न सिकाउँछ
हजुर आमाहरूलाई वृद्धालयमा .
छोरा पुस्तालाई मन्दिरभित्र ढुङ्गा पुज्न लाएर
भीख माग्न सिकाउँछ हजुरबाहरूलाई
परिवारविहीन बनाएर .
धुवाँ , धुलो र दुर्गन्धको मोहनी लाएर
रोगी भूत
बिरामी वर्तमान
अर्ध मृत्यु भविष्य बाँचेको काठमाडौँ
सबैलाई मइन्टोलमा पुतली मरेझैँ
मार्न ठिक्क छ खोक्रो आकर्षणमा .
जुठो बारेन उसले मरेकाहरूको नाउँमा
एक छाक नुनसम्म पनि
मर्नेका नाउँमा बजाएन शोकधून उसले
सट्टामा –
आर्यघाटमा नयाँ लास नपाउँदा
पशुपतिको पेटीबाट मान्छेको मृत्यु प्रार्थना गर्दै
बुख्याँचा जलाउँन सिकायो
मुखमा अमृत पिलायो आफूले अनि
पैतालाका जाङबाट जहर ओकल्नुको विकल्पमा
मानवता र नैतिकतालाई भकुरेर
कैफियत आयु बाँच्नेहरूलाई
एक घुट्को हर्दीपानी पिलाउन जानेन उसले

नैवेद्य चढायो दुङ्गाका देवताको मुखाकृतिमा
तर भोकाहरूको टपरीमा सातु चढाउन जानेन उसले
पस्मिना ओढायो लाज नलाग्ने देउतालाई
तर नाङ्गाहरूको अङ्ग छोप्ने भोटो दिएन उसले .
अनिकालमा कन्दमुल खाएर छेरौटी लाग्दा
दिएन आधा गिलास जीवनजल काठमाडौँले .।

ढुङ्गाका चट्यान छातीमा
दसै नङ्ग्राले चिथोर्दा पनि
चुल्हो बाल्न हम्मे – हम्मे पार्छ काठमाडौँले .
सिमामा स्वागतको मइन्टोल झुन्ड्याएर
घरमा भोटे कुकुर देखाएर तर्साउने
संस्कार छ काठमाडौँमा .
शरण लिन आउनेलाई मरण गर्छ उसले .
प्राचिनताका गर्भबाट
आधुनिकता जन्माएर
लात बर्सायो उसले संस्कार र संस्कृतिलाई .
हुँदा – हँदा शैक्षिक मृत्यु गराएर
समय बेच्ने ठाउँको अभावमा
जम्मा भएको बाउको धनीपुर्जा
चर्को साहु ब्याजमा बन्धक राखी
ब्याजसम्म तिर्न नपाई
राता बाकस भरिएर आउन बाध्य बनायो उसले .
म यत्तिमात्र भन्छु –
उसले सन्तान नस्वीकारेपछि
अझै पनि पाहुना नै छु म
कुन पुस्ताको ऋणको लोन तिर्दै बसेको .
अभावका फोस्रा सपनाहरू तुहाएर
म्याद सकिएको औषधीझैं
बाँचेका छन् यायावरहरू मइन्टोल काठमाडौँमा
पुतलीहरू आएर भकाभक मरेझैँ .
अचेल मइन्टोल र काठमाडौँ
घाट ः मण्डप लाग्न थालेको छ
मृत्यु बोलाउने सुन्दरता !!