मन, चङ् जस्तै उडिदिन्छ
बाँधु भन्छु बाँधिदैन
के मन सबैको यस्तै हुन्छ र ?

मन कहिले भुवाको खास्टो ओढेर
पहाडको टुप्पोमा पुगी
गुजुल्टी परेर बसिदिऊँ भन्छ
के मन सबैको यस्तै हुन्छ र ?

मन, कहिले ढुङ्गा बनेर
अनावश्यक उब्जेका रहरलाई
बगरमा लगी किच्याउँ भन्छ
कहिले सियो र बलियो धागो बनेर
उध्रिएको जिन्दगीलाई
सिलाइऊँ भन्छ
के मन सबैको यस्तै हुन्छ र ?

मन, कहिले बरफ बनी जमेर
कन्चनजङ्गा बनी
ठिङ्रिङ्ग उभिऊँ भन्छ
कहिले छहरा बनी पहरालाई टेक्दै
खोलामा हामफालेर
सुसाई सुसाई बगूँ भन्छ
के मन सबैको यस्तै हुन्छ र ?

मन, चङ्गाजस्तै उडिदिन्छ
बाँधु भन्छु बाँधिदैन
के मन सबैको यस्तै हुन्छ र ?

धरान