
समय कठ्याङ्ग्रिन्छ
एकभुँडी भोक बोकेर
ऊ आमादेखि बटारिन्छ
आमाको लाम्टो चुसेर
पराया ठानी त्यही आमालाई !
प्रगतिको घोडा चढी
भोकको नाता खोज्दछ
भोकका आँखा पछिल्तिर हुँदा हुन्
त्यसैले होला
आफ्नो भुल कहिल्यै देख्तैन !
अस्तित्व गुमाएका
कलिला पैतालाहरू
आफ्नो भुँडीका विरुद्ध आन्दोलन गर्न
हात थाप्दै सडकभरि सलबलाएका छन्
विज्ञापन र प्रगतिका ठूला ठूला होर्डिङहरूमा !
उनीहरू निर्निमेष खोजिरहेका छन्
भोकको अनुहारको चित्र
उसको नातासम्बन्धी
भोक हराएको हल्लाका बीच
भोकसँगै भिँडिरहेछन् !
आफ्नो कोखको भ्रूण समेट्ने
सदैव सचेत रहने
अनेक दुःख सहने
नानीको अनुहार चम्काउने
जो हो त्यो त आमा नै हो !
तर ओठ निचोर्दा दुध निस्कनेहरू
सडक-बजार, उद्योग- कारखानामा
भोकको विरोधमा महाभारत लडेको देख्ता
भोकको अस्तित्व र शक्ति
बाँच्नकै लागि बाँचिरहेछन् !
भोकलाई मात्र चिन्दछन् उनीहरू
सपनामा भोकलाई मात्र देख्छन्
विपना कस्तो हुन्छ होला ?
सुख्खा आँखा एक जोडीले
रस हराएका फुस्रा ओठले !
न्यास्रो अनुहारसँग टाँसिएर
बाटो र परिचय हराएका
नालाका किराझैँ
अस्तित्व गुमाएका यिनीहरूका लागि
भोक एक चिरन्तन यथार्थ हो !
भोकको दुनियाँको कतै अन्त्य छ ?
भोगको दुनियाको पनि एउटा साम्राज्य हुन्छ !
सोच्नै नसक्ने कुरा
भोकको नातेदारहरूको लागि
के हो खै सबै सदैव !
आमा आफ्नो अनुहार नियालेर हेर्ने प्रयास गर्छे
शुन्यता ढकमक्क फुलेको छ उसको अनुहारमा
निधारमा ठूलो प्रश्नचिह्न झुन्डिएको
कर्तव्य र दायित्वबोध
लाज र मर्यादामा अल्झिएको भोकको नाता !
गुवाहाटी,असम,भारत



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

