चाख्दाचाख्दै शपथपत्र सकिदै छ
संकल्पित लक्ष्य गुटमुटाइ
कुरीतिले शपथिका बोझ बन्दै छ
कुनियन्त्रित भावकर्म उचालिँदै छ
कति पकाउनु कतिलाई शपथ खुवाउनु
घोर दम्भ तिगडम गर्दागर्दै
सत्ता हारेको क्षणमा
लाज पचाएर कुर्सीमा बस्नेहरू
कुसंस्कृति कुपथले सिङ्गारिदै छ
दुई नम्बरी मार्ग खन्न तत्पर
कुटिलता जटिलता शासनीत छ
असुरत्व प्रवृत्ति स्थापित गर्नेहरू
हतमसारमा तीर हान्दै छन्
निष्कलङ्कीहरू खञ्चुवा अगुवा भगुवा गाथाले
सिँगारपटार हुँदा शासन डामाडोल हुँदैछ
नवयुगका चिन्तक मनुवाहरू खै कता हराए
गुरुचेला पथभ्रष्ट भैसकेको मण्डलीमा
शपथ खाँदै तानाबाना बुन्दै छन्
उता गाउँमा भोक रोगले मान्छे खान्छ
यता शितल छहारीमा शपथ खान्छन्
पलायनले बीऊ मर्ने सम्भावना छ
परराष्ट्र मन्त्रीको पहिलो निर्णयसँगै
कालापानी लिपुलेक सुस्ता एनेस्थेसियामा छ
जलश्रोत मन्त्रीको प्रथम निर्णयले
कोशी, गण्डकी, महाकाली दक्षिण भासिन्छन्
कृषि मन्त्रीको हस्ताक्षरसँगै खेतीपाती पराधीन हुन्छ
मलिलो खेतमा अपार्टमेन्ट उचाली फोहरको राजनीति छ
उद्योग मन्त्रीको शपथसँगै
उद्योगधन्दा सडकछाप बन्दै ब्याजको लाजनीति छ
महामहिमहरू समाजवादी गीत रटानमा छन्
शपथेहरूको झण्डा उचालिदै छ, खसालिदै छ
देश र जनताको ढाड भाँचिदा यिन्को हालिमुहाली छ
भासिदै धाराशाही हुँदै किनारा को को लाग्छन्
स्वतन्त्रको पनि चुली चढ्ने खेल छ
युवा पलायनले बिँडो थाम्न नसक्नेहरू
रेमिट्यान्सले मोटाउँदै छन्
अबको दशकमा देश वृद्धाश्रम बन्दैछ
वर्तमान, निवर्तमान र भूतपूर्वको खेतीले
देशको ढुकुटी खोटिलो हुँदैछ
अब त गाउँदेखि उपल्लो दरबारसम्म
हस्ताक्षर र नियुक्तिको बेपार चलेको छ
तीब्र गतिमा स्खलित हस्तान्तरित सत्ता
मोज भोज भत्ताले बदनाम हुँदैछ
उपचारकै बहिखाता हेर्दा जिब्रो टोक्ने बेला छ
दलाली अदला बदली पालोमा व्यस्त चलनले
देश बर्बाद हुँदै छ नेता ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।