ज्ञान दिन्छौ हामीलाई सबै सत्यतथ्य
अज्ञानबाट ज्ञानी बन्छौँ ज्ञान पाई असङ्ख्य
रङ्गीनरङ्गीन चित्र हेर्दै सबै रमाउछौँ
रमाइला कथा पढ्दै कल्पनामा डुब्छौँ
इतिहास पढ्छौँ हामी पुराना ज्ञान पाउँछौँ
ब्रह्माण्डका सर्वस्व ज्ञान विज्ञानबाट पाउँछौँ
समाधान सूत्रकै हो गणितमा गर्ने
साहित्यमा लय भरी कविता हो पढ्ने
एक्लै हुँदा फुर्सद हुँदा तिमी बन्छौ मित्र
ज्ञानगुनका अनेक कुरा बाँड्छौ सबैभित्र
तिम्रो साथले गर्न सक्छौँ सिर्जना समीक्षा
पढाइको भोक हुनेको पूरा गर्छौ इच्छा
धन पनि तिमी नै हौ मन पनि तिमी
तिम्रो भण्डार रित्तिँदैन जति बाँडे पनि
ज्ञानरुपि उज्यालोको एकमात्र सार
ज्ञानको ज्योति छर्ने पहिलो एउटै आधार
तिमी मेरो घरमा बस्दा घरै सुन्दर हुने
तिम्रो अध्ययन गर्दै जाँदा जीवन सुन्दर हुने
तिमी मेरो गहना हौ तिमी मेरो शिक्षा
सुमार्गमा हिँडाउने तिमी हाम्रो दीक्षा
तिम्रो भण्डार जता जता त्यस्तै छ आनन्द
आनन्दको माहोलसँगै ज्ञानको सुगन्ध
जतन गछौँ तिमीलाई सुरक्षित राख्छौँ
पुस्तक पढी, पुस्तक लेखी ज्ञानको ज्योति बाल्छौँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।