मायाको मिशाल बनाउँ भन्थ्यौ
सपना मायाको देखायौ तिमीले
माया मेरो पवित्र थियो
सस्तो किन बनायौ तिमीले

आकाश झैं माया फैलाउँ भन्थ्यौ
क्षितिज मायाको देखायौ तिमीले
उदय मायाको भएकै थियो
अस्त किन गरायौ तिमीले

मायाको डुङ्गामा शयर गरायौ
सागर मायाको देखायौ तिमीले
चोखो माया तैरिन्छ भन्थ्यौ
आज किन डुबायौ तिमीले

मायाको सातै रङ देखायौ
जीवन रङ्गीन बनायौ तिमीले
उज्यालो संसारको कुरा गर्थ्यौ
अन्धकार किन बनायौ तिमीले

मायाको दियो बलेकै थियो
तेल थप्छु भन्थ्यौ तिमीले
हुरीबाट त बचाएँ मैले
फुकेरै किन निभायौ तिमीले

फूल झैं माया हुर्काउँ भन्थ्यौ
सुवास मायाको फैलायौ तिमीले
जोगाउन हरप्रयास गरेँ मैले
मायाको अवशान गरायौ तिमीले ।