बूढी भएकी सासूआमालाई
एक आम्खोरा पानी अनि
एक गाँस खाना दिन गार्‍हो भयो
सहर पसेर साना नानी बाबुलाई
पढाएँ, ‘बुढा बा-आमाको सेवा गर्नु धर्म हो।’
त्यसपछि म शिक्षक बनेँ।

आमाजस्ती सासू, बहिनीजस्ती नन्द
भगवान् जस्ता श्रीमान् सँग
मिल्न सकिनँ, घर छोडेँ र भनेँ-
‘हामी सबै मिल्नु पर्छ’
घर, समाज अनि देश बनाउनु पर्छ
त्यसपछि महिला नेतृ बनेँ

संविधानको किताब पल्टाएर
महिला अधिकार पढेर सुनाएँ-
हामी महिला अन्यायमा छौँ
न्यायको लागि घरबाटै लड्नु पर्छ भन्दै
मिलेर बसेको परिवार फुटाएँ
त्यसपछि म अधिकारकर्मी बनेँ ।

सोचेका लक्ष्यमा पुग्न सकिनँ
समाज सेवाको नारा लगाएँ
सेवानै धर्म हो, मरेर के नै लानु छ ?
अरुको दु:ख र आँशुको व्यापार गरेँ
नाम कमाएँ, दाम कमाएँ, महल बनाएँ
त्यसपछि म समाजसेवी बनेँ

यताको उता, उताको यता सारेँ
अघिको पछि, पछिको अघि सारेँ
दु:खलाई सुख, सुखलाई दु:ख बनाएँ
सञ्चोलाई बिरामी, बिरामीलाई सञ्चो बनाएँ
घामलाई पानी, पानीलाई घाम देखेँ
जिउँदोलाई मुर्दा, मुर्दालाई जिउँदै देखेँ
अनि म कवि बनेँ ।

दाङ