मुर्दाघरहरू बनाउनुअघि
घाटहरू तयार पार्नुअघि
चिहानहरू खन्नुअघि
लास गन्ने कर्मचारीहरू नियुक्त गर्नुअघि
आँधीको बेगसरी आउने
घामका किरणहरूभन्दा छिटो फैलिने
त्यो कुन भाइरस हो ?
सरकार रोकथामको तयारी गर्दै थियो ।
खानेकुरा सकिए पनि भोकै नबस्नू
पैसा नभए पनि खान नछोड्नू
मजदुरी गर्न नजानू
रोगप्रतिरोधक क्षमता बढाउनू
साबुनपानीले हात धुनू
घरमै बस्नू !
सरकारले उर्दी जारी गरेकै थियो ।
सरकारको निर्देशन नमानेर घरबाहिर निस्कने
को हो ?
को हो त्यो ?
जसले सरकारको आलोचना गरिरहेछ !
को हो त्यो ?
जस्ले आफ्नो आयु बढाउनलाई
सरकारको आयु घटोस् भनिरहेछ !
को हो त्यो ?
जसले सरकारसँग गुहार मागिरहेछ !
को हो त्यो ?
जसले सरकारसँग आश गरिरहेछ !
को हो त्यो ?
जसले कोरोनालाई दोष दिँदै प्राण त्यागिरहेछ !
भोको छु भन्ने को हो ?
रोग सार्ने को हो ?
सरकारको बिरोध गर्ने को हो ?
सरकारले खाद्यान्न र ओषधोपचारको तयारी गर्दैछ ।
म सरकारको आलोचना गर्दिनँ !
म सरकारको बिरोध पनि गर्दिनँ !
बरू
यो क्वारेन्टिनभित्रबाट
जूनतारालाई साक्षी राखेर
यो धरतीलाई छोएर
तातोपानी र जाउलो आउनुअघि
सिटामोल र जीवनजल पाउनुअघि
सर्पबाट जोगिएर
झुल्केघामले देख्नुअगावै
म
सरकारलाई मेरो आयु दान गर्न
तयार छु !
सरकारले भव्य तयारी गरोस् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।