पञ्चभौतिक शरीरलाई बिसौनीमा बिसाएर
अन्तर्मुखी मनलाई एकै क्षण तलाउमा छोडी दिएँ
मनलाई एकान्त परिवेश जुराई दिएँ

अमूर्त मन –
‘हाइड्रोजन, अक्सिजन र फ्युजन’हरूको तलाउभरि फैलियो
पानीको लहर र छालहरूमा ठोक्किएर निकै हल्लियो

तलाउको सबै आयामलाई मनले
आफ्नै सम्झेर “म नै तलाउ हुँ” भन्यो
र सौन्दर्यको गहिराइमा गहिरिँदै गयो

उसले पानीलाई पनि आफूजस्तै तलाउ देख्यो
तलाउलाई पनि आफूजस्तै पानी देख्यो
अर्थात जे देख्यो त्यसले एउटै देख्यो

जब सतहमा उत्रियो मन
उसले आफ्नो गहिराइमा आकाशले स्नान गरिरहेको देख्यो
र आफूभित्र सिंगो आकाशको शून्य अनुभूति गर्यो

मन निकै बेरसम्म तलाउमा हरायो
उसको खोजीमा न कोही रोयो न करायो
आकाश-धर्तिको साक्षात्कारमा ऊ बिलायो

हुन त तरल सौन्दर्यको द्रव्य आकर्षणले
के मात्र तानिएको छैन र
पशु र मान्छे बाँचेको हाम्रो संसारमा ?

त्यहीबेला एकजना फोटोग्राफर
क्यामेरामा कैद गर्दैथियो
नैसर्गिक क्यानभासमा कोरिदै गरेको दृश्य :

एकतमासले टोलाई रहेको म
मन जमेको तलाउ
र धरतिमा खसेर निलाम्मे बनिरहेको आकाश

यसरी एक्लै बाँच्नुको अभ्यस्ततामा
समाधिस्थ छु म
मन त हमेशा कताकता गइरहन्छ !