म दिशा दिशामा छरिएर
हुरीझैँ रुमलिएँ
भूमरीहरूमा फसेँ ।
जलेर रौरवको ज्वालामा
शेष रहेको मेरो अस्तु
स्वीकार्छौ देव ?
मलाई स्वर्गको सौरभ नसम्झ ।
तिमीले सिकाएका
कोमल स्वरहरू मैले
आफ्नो गलामा भर्न सकिनँ
कागझैँ कर्कष स्वर आफ्नो
मैले भुलेर भुल्न सकिनँ
तिमीले दिएका प्रत्येक क्षमाहरूलाई
मैले अवमुल्यन गरेको छु
तिमिले दिएको पियुषको प्याला
आफुले नपिएर
अन्यत्र कतै फालेको छु ।
म त त्यही पूरानो काग हुँ देव
किमार्थ मलाई अबोध नसम्झ ।
श्रीङ्गारभित्र लुकेको
मेरो विरुप अनुहारले
अचेल मलाई सोध्न थालेको छ
“तिमी आफैँसङ्ग किन भाग्छौ ?“
म डराउँछु प्रश्नहरूले,
मेरो आत्मविडम्बना
म जल्छु लज्जा बोधले
अनि भन्छु आफैँलाई
जुनदिन म मेरा सबै ईमान जमान पखालेर
छाती साहस ले भर्नेछु
जब म आफ्नै भरमा उभिन सक्नेछु
र जब आफ्नै आँखाले हेर्न सक्नेछु
त्यसदिन म आकासझैँ आवरणविहीन
नाङ्गै हिँड्नेछु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।