आमा
जानी नजानी फुँदा गाँसेरै भए पनि
कहिले सुनेका, कहिले आफैँ गुनेका
कथाहरूका कोक्रामा
दुःख पुछिएका मजेत्रो ओढाएर
पलेटीका चट्टाने चोटबाट
कलिला मस्तिष्क जोगाउन
भुस बेरेर बनाइएका पटुकीका सिरानीमा
आँखीझ्याले फरिया बिच्छ्याएर
मझेरीमा ढल्किँदै
तिम्रो समुज्वल स्वास्थ्य र दीर्घायुको कामनामा
जाग्राम बसेका यी नयन आज
सदाका लागि ज्योति गुमाएर
जलबिन्दुले ढाकिदिँदा
म दुःखी छैन छोरा
ऊ दिनहरूमा
तिम्रै लागि
भोक प्यास आफैँमा खिचेर
निद्रा पस्किएर थालमा
जाग्राम बनेका मेरा यी आँखाहरू
बरू
आज पनि
दृश्य खिच्न सक्थे भने
म जिउँदै मर्थेँ सायद
साँच्चै, ती उँगेका नयनहरूले
आज दृश्य गुमाउँदै गर्दा अहोभाग्य मानिरहेछु
अहोभाग्य मानिरहेछुु ।

बुबा
वंशको बत्ती निभ्ला भनेर
निचोरेर पसिना, कसेर पटुकी
एक हल गोरुका ऋण बोकेर
जम्मा गरेको बूढ्यौलीको धन पोकोले
जसोतसो पूजाका जोरजाम गरी
भाकलमा बली चढाएका काला बोकाका श्रापले
भत्किएको मेरो भाग्यको पर्खालमा
साँच्चै, मर्मतका मलम बोकेर
धर्तीमा तिम्रै पहिलो आगमनले
फाटेको यो मनमा
होलीको उत्सव थपेकै
हिजै झैँ लाग्छ
तर
तोतेबोलीमै तिमी
यति ठूला भएर
ती लालाबालामाथि
पुरुषत्व देखाउने भइसकेको
सुन्न नसक्ने गरी
हे भगवान्, किन निदाएनन् मेरा कानहरू
किन जागे चेतनाहरू ?
किन फैलिँदैछन् कपुत लहराहरू
किन सुन्यौ वंशका नाममा
स्वार्थन्धी धृतराष्टे बनेका मेरा भक्तिहरू ।

बहिनी
कोेरोनाका त्रासले आधा मरिसकेकी म
क्वारेन्टाइनका अनेक कहर काट्दै
केही दाजुभाइका आश्वासन सुन्दै
लडखडाएका योजना बुन्दै
दिदीबहिनीका ममताका स्पर्शमा
सुन्दर बिहानी मनैमा फुलाउँदै
पर्दे भित्तामा भुनभुनाएका भमराबाट
जोगिने अनेक उपाय रच्दै
विश्वासिला लाग्नेका मनमा
आफ्ना त्रासका मलम खोज्दै
कोरोनारूपी भोको हुङ्कार कल्पेर
जाग्राम बस्थेँ म ।

आमा र बाबुका पोल्टोमा सिरानी राखेपछि
वर्षाैँको तिर्सना मेटाएर
जवानीले फक्रँदै
स्वदेशको भूमि सिञ्चेर
नङ्ग्राले च्यापेका आहारामै
झुपडीमा गाँस साटासाट गर्दै
बचेरा र उनमै संसार भुलाउने
धोको बुनेर
सन्त्राससँग पौठेजोरी खेल्दै थिएँ ।

एकाएक, किन राक्षसी बनेर
सिंहनादका हुँकारमा
तँछाडमछाड गर्दै लुछिदियौ ?
तिम्री
धर्तीले नै पोसिएकी थिएँ म
उनैका लाम्टा चुसेर
रसिली बनेकी थिएँ
शिक्षाका उज्याला डालामा
चेतनाले टेक्न नभ्याउँदै
निमोठी दियौ मुनालाई
तिम्रा जवानी हावाका उन्मादले
ध्वस्त बनेपछि यो लहरा
लहरियोस् कसरी ?

मनसँगै गुमे एकमुठी विश्वास
हिजै जोडेका काँचा भाँडाझैँ
दाजुबहिनीका नाता फुटेपछि
जाग्राम बने अविश्वासहरू
कलङ्कित दाजुका ध्वनिहरू
निराशाका भेलहरू
सबैसबै रहरहरू
साँच्चै हाम्रा अस्तित्वहरू ।