आमा तिमी मेरो पहिलो पाठशाला
अनि पहिलो विश्वविद्यालय
तर तिमीले पढेका तमाम ती पाठ गलत थिए
तिमीलाई पढाइएका ती पाठ्यक्रम गलत थिए
किनकि तिमीलाई पढाउने शिक्षक नै गलत थिए
जसका कारण तिमीले
मलाई पनि गलत पाठ घोकाइरह्यौ

तिम्रा गुरुहरूले तिमीलाई
पेटिकोटका तुनाहरू बलियोसँग बाँध्नको लागि भनिरहँदा
किन भनेनन् ती शिक्षकहरूले बाहरूलाई
आफ्ना लँगौटी कस्नका लागि
किन तिम्रा फरियालाई मात्रै
सधैँ बोकाइरह्यो इज्जतको भारी ?

तिम्रा अध्यापकहरूले
एकलौटी रुपमा तिमीमाथि लादेको नियम
जहाँ तिम्रो कुनै अस्तित्व छैन
तिमीले तिमी हुनुको अर्थ खोज्दा
नस्वीकार्ने यो समाजको पढाइलाई
म कदापि सही भन्न सक्दै सक्दिनँ

आमा तिम्रो पेटिकोटले धानेको इज्जतलाई
तिम्रो छोरी अनि नातिनीले जोगाउनु पर्छ भन्ने
यो समाजका बुद्धि बङ्गाराहरू
किन भन्दैनन्
तिम्रा छोराहरूलाई अनि तिम्रा नातिहरूलाई
कन्धनीले पनि आफ्नो इज्जत जोगाउनु पर्छ भनेर ?

भन्नेहरूले भन्छन्
आमा कहिले गलत हुन सक्दिनन्
तर आमा
तिमी पनि कहिलेकाहीँ गलत हुन सक्छौ
नत्र एउटै विश्वविद्यालयबाट साथैमा दीक्षित भएका
तिम्रा पुत्र अनि पुत्रीका सिकाइ
अनि दृष्टिकोणमा कसरी फरक हुन सक्छ?

ठिकै छ म त कसिदिउँला
तिम्रो पेटिकोटले धानेको
तिम्रो इज्जतको तुनालाई बेस्सरी कम्मरमा
प्रश्न यत्ति हो
तिम्रा छोराहरूले लगौटीको इज्जत राख्छन् कि राख्दैनन् ?
तिम्रो पाठशालमा कुनै दिन ढिला उपस्थित हुँदा
या कुनै दिन गयल हुँदा
तिनीहरूले आफ्ना इज्जत कतै फ्याले कि भनेर
सोध्ने हिम्मत राख्छौ कि राख्दिनौ आमा?

तिम्रो विश्वविद्यालयको पाठयक्रममा सुधारको माग गर्दा
केही ठेट्ना मकैहरू हाँस्न सक्छन्
तर आमा तिमीले
तिम्रो विश्वविद्यालयको गलत सिकाईलाई
अब यही युगमा सुधार्नु छ
र एकतर्फी रुपमा लेखिएको कथालाई परिवर्तन गरेर
ती किताबहरूमा मलाई
तिम्रो पनि हस्ताक्षर खोज्नु छ।

विदुर,नुवाकोट