पसिना र पाखुरा
जिज्ञासा र जाँगर
यी मेरा गहनागुरिया हुन्
खेतबारी
पाखापखेरा
घाँसदाउरा
यी मेरा तीर्थहरू हुन्
पत्यौलाहरू ओछ्यान् हुन्
लहलह बालीका बोटहरू-
बिजुलीका खम्बाहरू हुन्
र, जूनताराहरू मेरा बत्तीहरू हुन्
पुग्नु टाढा छ
अर्थात् बाटो लामो छ
म छोटो निदाउँछु
तीर्थहरूले मेरो निद्रा छोट्याइदिएका छन्
म तीर्थदेखि तीर्थसम्म घुमिरहन्छु
मेरा तीर्थहरूको तीर्थाटन मेरो यात्राका उद्देश्य हुन्
मैले प्यास पिउँछु
अत: मलाई पानीले बगाउँछ
म कुलो हुँदै
मेरा तीर्थलाई सिञ्चन गर्दै
म समुद्रको सवार गर्छु
मसँग मेरो दयालु भाग्य छ
यसर्थ म भाग्यमानी छु ।
पहाडहरूले आफूलाई अग्लो ठान्लान्
उच्च चिनाउलान्
मेरो पनि अग्लाइमा टोपी छ
यो मेरो सर्वोच्च उचाइ हो
पाखुरा र पसिनाजस्तै –
यो मेरो अझ महङ्गो गहना हो
मूर्खहरूको बललाई रिसाउन सुहाउँछ
म त्यसको हिम्मत सिकेर बस्छु
अनि मेरो रिस आफैँ बन्द हुन्छ
र, म पत्यौला पन्छाएर उठ्छु
तीर्थमा जान्छु
पवित्र पसिनाले सुहाएर घर फर्किन्छु
दिनभरका मेरा रिसलाई एकै ठाउँमा थुपार्छु
र मलखाद तयार पार्छु
म मेरो शक्तिलाई शक्तिशाली बनाउँछु
अनि मेरा मौसम बदल्छु
र मेरा जोशलाई आदेश दिन्छु-
“म तेरो प्वाँखको शक्ति हुँ, नडराइ उड्”
टाढासम्म उड्
बरु निद्रा छोटै होस्
बरु समय घटाउँला
तेरो आँखामा प्रेम बल्नैपर्छ
म तीर्थका यी सन्देशलाई अवज्ञा गर्दिनँ
हृदयमा सानो बालक
भर्खर रक्तसञ्चारमा तातेताते गर्दैछ
भोलि यसैले मलाई हिँडाउँछ
सुतिरहेको मलाई ब्युँझाउँछ
अनि भन्छ-
यो तेरो तीर्थाटनको सूत्र हो
धेरै महिना हिनामिना भयो
तेरा मौनताले विगत मन पराउन थाले
तँ उल्टो नहिँड्
हृदयमा एउटै शब्द योग्य हुन सक्छ
त्यही योग्यको योग्यता तँलाई सबैभन्दा सुहाउँछ
जुन तेरो पाखुराको श्रृङ्गार बन्नेछ
फेरि भन्छ-
म्याद जसको हुन्छ
त्यसको म्याद समाप्त हुन्छ
जब समाप्त हुन्छ –
त्यसका लागि नजरको अर्थ छैन
मनपर्ने इच्छा मन पर्दैनन्
यही समय हो-
तेरो लामो यात्राको आरम्भ
अबेर नगरी आरम्भ गर् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।