फोहोरी जुत्ता
हिँड्दैन अचेल
काठमाडौंको आङलाई
अँगालो मारेर
सक्कली तीनपानेमा
नक्कली भाषण मिसाएर
बोल्दैन आजभोलि महेन्द्रको सालिक ।

मङ्गली भाउजू अचेल बुझ्दिनन् कविता
जुँगामा जुम्रा पारेर
मख्ख छन् मङ्गले दाइ
फेरि सुनाउन खोज्छन् कविता
उहिले कै सुरूमा
भ्वाङ पारेर डस्नामा
हेरिरहेछु म
उनीहरुको टेबुलको बासी भात र ताजा तीनपाने
रहर लागेर बोल्न
हुइँकिन्छु मै पनि
माइतीघर हुँदै सिंहदरबारसम्म ।

नेपथ्यका कार्यक्रम संचालक
सुरुवाल फुस्किसक्दा पनि
कपाल उखेलेर
नरम भाषण बजाउँदैछन् ।

गोपालको खेतको आली
रमेश दाइको स्टकोट भिरेर
निदाइरहेको छ ।
व्यस्त छन् मिलाउन
सङ्ग्रहको सेटिङ
सातु खाएका दुब्ला साहित्यकार ।

एक हल मेलो जोतेर
सिनेमाका गब्बरलाई
दुई झाप्पु लगाएको
हेर्न पुग्छन् गोरु लिएर
रामजी काका ।
घरकि सुत्केरी स्वास्नी
र गर्भवती पाडीसँग नबोली
स्वानलाई आलिङ्घन गर्छन्
पोहोर सालका बेहुला दाजु ।

नटेकी भुइँमा
फेल गराउँछु अब न्युटनलाई ।

नहेरी चस्मामा
फर्काउँछु अब
यी चैते हुरी बतासलाई
अनुमति नलिई आज ।
जसले बर्षौँदेखीको आङ
उडाएको छ ,
पुरै पुस्तकालय उडाएको छ ।।