लाग्छ म पानी बनूँ
रंगहीन / स्वादहीन/आकारहीन
र बनाइराखूँ मेरो परिचय
एउटा शून्यजस्तो
मन लाग्छ मलाई
हिउँ बनेर शान्त रमाइरहूँ
झरना बनेर सेताम्य बर्सिरहूँ
वर्षा बनेर जमिन चुमिरहूँ
छाल बनेर उन्मुक्त नाचिरहूँ
बाफ बनेर बादलसँग खेलिरहूँ
सेलाउँदै सबै घमण्ड
कलकल नदीसँगै बगूँ तल तल
भेट्टाऊँ विशाल समुद्र र शान्त विश्राम गरूँ
अथवा, पर्वतमुनिको
कुनै शान्त तलाउमा ध्यानस्थ बसिरहूँ
जब जागृत उठूँ
म आफैं पुग्न सकूँ
जहाँ तिर्खा छ,जहाँ सुक्खा छ
आखिर पानी हुनुको अर्थ
सङ्ग्लो मन फिँजाउनु हो
यो भूगोलको कुना कन्दरामा
हरियाली रङ्गाउनु हो
हिमालदेखि समुद्रसम्म
ननस्टप धावक बन्नु हो
र पानी हुनुको अर्थमा
म ऊर्जा बन्न सक्छु
जतिसुकै अँध्यारोमा
मज्जाले उज्यालो फ्याल्न सक्छु
म पानी बनिरहँदा
मलाई जिस्काउने कोसिस नगर्नू
मेरो बाटो छेक्ने दुस्साहस नगर्नू
मलाई मन नहुँदा नहुँदै पनि
बाढी बनेर आफ्नो सिमाना कोर्न सक्छु
आँधी बनेर सबै बाधा हुत्याउन सक्छु
टाकुरामा हिउँ बनेर सजिरहँदा
मलाई रोकिएको नठान्नू
मलाई फरक नठान्नू
घामको सानो प्रेमिल स्पर्शमै
म पग्लिएर कुद्न सक्छु
मैले चाहेँ भने
ढुङ्गामा पनि प्वाल पारेर
अगाडि बढ्न सक्छु
कसम !
म पानी बनिरहूँ
बगिरहूँ र बगिरहूँ ।
बनेपा -७
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।