सुनेको
निरन्तरता छैन भने जीवन छैन
उपलब्धि छैन भने जीवन छैन
चलायमान छैन भने जीवन छैन
के नदी जस्तै बग्नु मात्र जीवन हो ?
फूल जस्तै: उम्रनु, वयस्क हुनु, कोपिला लाग्नु
फुल्नु, ओइलिनु अनि भुइँमा झर्नु मात्र जीवन हो ?
के सुरु र अन्त्य जीवनमा हुनै पर्छ ?
यदि यस्तै हो भने बगर भन्नु जीवन हो कि होइन ?
बगरमा जीवन छ कि छैन ?
जीवनमा बगर र बगरमा जीवन भेटिन्छ कि भेटिंदैन ?
या हामी खोज्दैनौ नै ?
गतिविहीन छ बगर, उपलब्धिविहीन छ बगर
के बगर चलायमान छ ?
के बगरलाई दुख्छ ? के बगरमा वेदना, समवेदना, भावना छ ?
के बगरको भूत र भविष्य छ ? कि बगर यो पृथ्वीको देखिने अंगमा पर्दैन ?
उत्तर कसैसँग छ भने सिर्फ बगरसँग मात्र छ, तर उसलाई थाहा छैन उसमा जीवन छ कि छैन
उसमा सिकायत छैन, ऊसँग गुनासो छैन र उसलाई भय, डर, उत्तेजना, अभिलाशा, आकांक्षा केही छैन
यो धर्तिमा बगर हुनु र नहुनुको महत्त्व के ? अर्थ के, हिसाबकिताब के ?
बगर नहुँदा र हुँदामा जीवन हुनेलाई फरक के पर्छ ?
तर बगरले यो पृथ्वीमा उपस्थिति राख्छ, यो पृथ्वीको एक हिस्सा हो
यसको सुरु पनि छ अन्त्य पनि छ
बगरमा जीवन छैन भने जीवनमा बगर किन जोडिन्छ, किन जोड्छन् मान्छेहरू ?
जीवन हुनेहरू किन तुलना गर्छन् यो बगरसँग ? सजीव र निर्जीव तुलना हुन्छन् त ?
कि जीवन पनि निर्जीव हुने गर्छ ? जसरी बगरमा जीवन जोडिन्छ ।
इलाम
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।